काठमाडौं । जीडब्लूएम (ग्रेट वाल मोटर्स)ले नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले नेपालमा पनि अत्याधुनिक प्रविधियुक्त विद्युतीय सवारीसाधनमार्फत थप सशक्त उपस्थिति जनाउने भएको हो ।
कम्पनीले हालसम्म नयाँ मोडलको औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणहरूले नेपाली अटोमोबाइल बजार र विद्युतीय सवारी पारखीबीच उत्सुकता बढाएको छ ।
जीडब्लूएमको आगामी विद्युतीय एसयूभी आधुनिक डिजाइन, स्मार्ट प्रविधि तथा उच्च कार्यसम्पादनका विशेषतासहित बजारमा आउने अपेक्षा गरिएको छ ।
प्राप्त जानकारी अनुसार नयाँ विद्युतीय एसयूभीमा एकपटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटरसम्म यात्रा गर्न सकिने क्षमता हुनेछ । स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधा समावेश हुनेछ ।

आकर्षक बाह्य डिजाइन, प्रिमियम संरचना, विसिष्ट प्रकाश संकेत तथा आधुनिक सौन्दर्यशास्त्रले नयाँ मोडललाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ ।

विशेषगरी बहु–तह सुरक्षात्मक कोटिङ प्रविधियुक्त बाहिरी सतहले सामान्य खालका ‘स्क्र्याच’लाई सूर्यको तापको प्रभावबाट स्वाभाविक रूपमा पुन:स्थापित गर्न सक्ने क्षमता राख्नेछ । यसले सवारीसाधनको चमक र सौन्दर्य दीर्घकालसम्म कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार नयाँ विद्युतीय एसयूभीमा ३६० डिग्री वरिपरिको दृश्य देखाउने क्यामेरा प्रणाली, ब्लाइन्ड स्पट निगरानी सुविधा, सातवटा एयरब्याग तथा १८० डिग्री पारदर्शी च्यासिस दृश्य प्रविधि उपलब्ध हुनेछ । यसले चालकलाई गाडीमुनिको अवस्थासमेत अवलोकन गर्न सहयोग पुर्याउनेछ ।
सुरक्षातर्फ उद्योगकै अग्रणी स्वचालित आपतकालीन ब्रेकिङ प्रणाली तथा बहु–स्तरीय दुर्घटना न्यूनीकरण प्रविधि समावेश हुने बताइएको छ । साथै २० भन्दा बढी उन्नत बुद्धिमान चालक सहायता प्रणालीले सुरक्षित र आत्मविश्वासी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
नयाँ मोडलमा स्मार्ट ककपिट, कफी ओएस ३.० एआई, एक–स्पर्श नियन्त्रण प्रविधि तथा आधुनिक डिजिटल अनुभव प्रदान गर्ने विभिन्न सुविधा रहनेछन् । चालकका लागि हावाप्रवाह सुविधासहित ६ दिशामा विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम सिट उपलब्ध हुनेछ ।
यसका साथै पाँच तहको ब्याट्री सुरक्षा प्रणालीले विद्युतीय सवारीको सुरक्षा थप मजबुत बनाउने कम्पनीको भनाइ छ । सहरदेखि राजमार्गसम्मको यात्रालाई सहज बनाउन चारवटा स्मार्ट ड्राइभिङ मोड पनि उपलब्ध हुनेछन् ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण, पूर्वाधार विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको बढ्दो चासोका बीच जीडब्लूएमको आगामी विद्युतीय एसयूभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा विस्तृत जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।