काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भोलिदेखि सुरू हुने नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गरेका छन् ।
आइतबार अपराह्न एक भिडिओ सन्देश जारी गर्दै उनले हरेक नयाँ वर्ष नयाँ उत्साहका साथ आए पनि विदाइहरू घनघोर निराशाकाबीच भइरहेको उल्लेख गरेका छन् ।
प्रिय आत्मीय दाजुभाइ दिदीबहिनीहरू, हामी नेपालीहरूको घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना । हरेक नयाँ वर्ष नुतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आश्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ ।
केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।
नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वकै अनुकरणीय र अनुशरणीय छ ।
देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको विधितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको परम्परामा हाम्रो मान्यता रहिआएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव हुनुपर्दछ ।
नागरिक स्वतन्त्रतालाई उच्च राख्दै तीनकुने घटनाबारे के भने पूर्वराजा ज्ञानेन्द्र शाहले ? (भिडिओ)
FACEBOOK COMMENTS