काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका प्रतिपक्ष दलहरुको बैठकमा राप्रपाले सो कुरामा जोड दिएको हो ।
गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ भन्ने कुरा आफूहरुले बैठकमा राखेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । आज शुक्रबार संसद भवन परिसरमा काँग्रेससहितका विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले संसदीय छानविन समिति बनाएर सहकारी ठगी छानविन गर्नुपर्ने कुरा राखेको बताए ।
उनले भने, ‘सरकारले वातावरण सहज बनायो भने राप्रपाको तर्फबाट हामीले गृहमन्त्रीलाई बोल्नु दिनुपर्छ भन्ने भन्ने कुरा त्यो बैठकमा राखेका छौँ र हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ । बोल्नुपर्छ गृहमन्त्रीले । तर छानविन समिति बन्ने कुरामा हामी पछाडि हट्दैनौं । किनभने यो विषयवस्तु आज एक जजना गृहमन्त्रीको मात्रै होइन । विषयवस्तु के हो भने समग्र देशका सहकारीहरुका कारण आज हजारौं जनता, लाखौँ जनता सडकमा अलपत्र छन् ।’
प्रमुख सचेतक शाहीले सभामुख देवराज घिमिरेले जबरजस्ती संसद बैठक चलाउन खोजेको आरोप पनि लगाएका छन् ।
FACEBOOK COMMENTS