कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २ मा अवस्थित ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय वि.स. २०४० सालमा कमल शेरचनले स्थापना गरेका हुन् । उनले सात वर्ष सञ्चालन गरेपछि वि.स. २०४७ सालमा ज्ञानुबाबा विद्यालय अहिलेका सञ्चालक कृष्ण गुरुङले किने ।
तत्कालीन समयमा कक्षा ५ सम्म अध्यापन हुने विद्यालयलाई कृष्ण गुरुङले अहिले नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन गरिरहेका छन् । साधारण अध्यापनका अलावा अहिले ज्ञानुबाबा विद्यालय खेलाडीहरू उत्पादन गर्ने विद्यालयका रुपमा समेत परिचित छ । अहिले ५०० जना भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको ज्ञानुबाबा विद्यालयले विशेषत: भलिबल खेलाडी उत्पादन गरेको विद्यालयकी प्रधानाध्यापक शुभकन्या गुरुङ बताउँछिन् ।
ज्ञानुबाबा विद्यालयको आरोह–अवरोह र अहिलेको अवस्थालगायत विषयमा कर्पोरेट खबरका साइराम उपरकोटीले विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत छ, विद्यालयका अध्यक्ष कृष्ण गुरुङ र उनकी श्रीमती प्रधानाध्यापक शुभकन्या गुरुङसँग एकसाथ गरिएको कुराकानी:–
ज्ञानुबाबा विद्यालयको आरोह–अवरोहका साथै वर्तमान अवस्था कस्तो छ ?
कृष्ण : आरोह–अवरोहका कुरा गर्दा यो विद्यालय मैले स्थापना गरेको नभइ किनेको हुँ । त्यसकारण स्थापना गर्दाको अनुभव भनौँ वा दु:ख त्यसको अनुभव मसँग छैन । जब मैले वि.स. २०४० सालमा कमल शेरचनसँग विद्यालय किनेँ त्यसपछि भने विभिन्न समस्याहरू झेल्दै यहाँसम्म आइपुगेका छौँ । त्यसबेला यो विद्यालयमा जम्मा १४५ जना विद्यार्थी थिए । तर, अहिले ५०० जना भन्दा धेरै विद्यार्थी यहाँ अध्ययनरत छन् । हाम्रो विद्यालयमा १० कक्षासम्म अध्ययन गाइन्छ । एउटा कक्षामा ३० देखि ३५ जना विद्यार्थी छन् । उनीहरू सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हामी दिनरात खटिइरहेका छौँ ।
यो विद्यालयलाई भलिबल खेलाडी उत्पादन गर्ने विद्यालयका रुपमा पनि चिनिने गरिन्छ, यसबारे तपाइँबाटै केही सुनौँ न ?
कृष्ण : हो, हाम्रो विद्यालयबाट भलिबल खेलाडीहरू पनि उत्पादन हुँदै आएका छन् । सबै भन्दा पहिला भलिबल सुरू गर्न हामीले यहाँका जीवन चौधरी सरसँग कुरा गर्यौँ । त्यतिबेलाको नव आदर्श क्लब (अहिले– नव आदर्श विकास केन्द्र)ले भलिबललगायत खेलहरू आयोजना गथ्र्यो । क्लबले त्यसबेला तीजको अवसर पारेर त्यस्तै एउटा प्रतियोगिता आयोजना गरेको थियो । त्यो प्रतियोगितामा हाम्रो विद्यालयले पनि सहभागिता जनाएको थियो । तर, छोरेपाटन उच्च माध्यमिक विद्यालयसँग पराजित बन्न पुग्यौँ ।
पराजित भएपछि हाम्रा विद्यार्थी भाइबहिनीहरू रुन थाले । उनीहरूलाई हामीले राम्रो खेल्दामात्रै जित्न सकिने र राम्रो खेल्नका लागि अभ्यास चाहिने भनेर सम्झायौँ । तर, उनीहरूले सम्झिन चाहेनन् वा सकेनन् । त्यसपछि उनीहरूको रोदनपछि हामीले खेलकुदसम्बन्धी पनि विद्यालयले केही काम गर्ने अठोट लिएका थियौँ । र विद्यार्थीका अभिभावकसँग छलफल चलायौँ । उहाँहरूसँग हामीले पढाइ र खेलकुदको जिम्मा हामी लिन्छौँ भनेर खेलकुदलाई पनि निरन्तरता दियौँ । फलस्वरुप त्यो हारपछि हाम्रो खेलकुद यात्रा सुखद हुँदै गयो । जुन स्थानमा गए पनि पहिलो वा दोस्रो नभए पनि तेस्रो त अवश्य पनि हुन थालियो । यसरी अघि बढ्दै जाँदा वि.स. २०५७ सालमा हामीले राष्ट्रिय पुरस्कार नै हासिल गर्यौँ । त्यसपछि निरन्तर विभिन्न पुरस्कारहरु पाएका थियौँ ।
आफ्नो विद्यालयले राष्ट्रियस्तरका पनि खेलाडी उत्पादन गर्दा कस्तो अनुभूति हुन्छ ?
शुभकन्या : म र मेरो श्रीमान् पहिला खेलाडी नै थियौँ । त्यसैले हामीले पढाइसँगै खेलकुदमा पनि विद्यार्थीलाई अगाडि बढाएका हौँ । सबै भन्दा पहिला ५/६ कक्षा पढ्ने विद्यार्थीलाई लिएर भलिबल खेल खेलाउन सुरू गरेका हौँ । हामीले पहिलो पटक प्याब्सन खेल प्रतियोगितामा भाग लिएका थियौँ । यहाँ पहिलो पटक नै प्रथम भएका थियौँ । यसपछि हाम्रो खेलकुदको यात्रा अगाडि बढेको हो । जहाँ जुन स्थानमा जाँदा पनि हामी प्रथम भएर नै आउँथ्यौँ । अहिले तिनै खेलाडी राष्ट्रियस्तरका खेलहरू खेल्ने भइसकेका छन् भने धेरैले खेलिसकेका छन् । यसले गर्दा हाम्रो स्कुल पनि राष्ट्रिय रूपमा चर्चित भएको छ । हामी धेरै नै खुसी छौँ ।
ज्ञानुबाबा विद्यालयले पढेर र खेल सिकेर राष्ट्रियस्तरमा पुग्नुभएका कति जना खेलाडीहरूको नाम सम्झिन सक्नुहुन्छ ?
कृष्ण : खेलाडीहरू थुप्रै हुनुहुन्छ । अहिले जति सम्झिन सक्नु उहाँहरूको नाम लिनुपर्दा अरुणा शाही हालको कप्तान, त्यस्तै मञ्जु गुरुङ, लक्ष्मी गुरुङ, परीक्षा गुरुङ, सुप्रिया गुरुङ, होम कुमारी पुन, खुसी खड्का र मान्ती आले हुनुहुन्छ । यस्तै, एथलेटिक्समा पनि हाम्रा विद्यार्थीहरू अब्बल नै हुनुहुन्छ । जस्तै, सुनिल गुरुङ, सन्तोष गुरुङ र विकास थापालगायत एथलेटिक्समा हुनुहुन्छ । यसैगरी, बास्केटबलमा विजय गुरुङलगायत खेलाडी हुनुहुन्छ । अरु पनि धेरै हुनुहुन्छ । सबैको नाम सम्झिन नसकेकोमा माफी चाहान्छु ।
तपाईंहरूका विद्यार्थी खेलकुदमा मात्र अब्बल हुन् कि पढाइमा पनि अब्बल छन् ?
शुभकन्या : हाम्रो विद्यार्थी खेलकुदमा मात्र हैनन् पढाइमा पनि अब्बल छन् । हामीले खान बस्न व्यवस्था गरेर विद्यार्थीहरुलाई होस्टेलमा राख्ने गथ्र्यौँ । उहाँहरुलाई पढाइसँगै खेलकुदमा पनि सहजता होस् भन्नका लागि हामीले होस्टेल राखेका थियौँ । हाम्रा विद्यार्थी सबै भन्दा धेरै पढाइमा नै राम्रा छन् । थोरै समय मात्र खेलकुदमा ध्यान दिने गर्दछन् । ६/७ घण्टाको पढाइ र २ घण्टा जति खेलकुद प्रशिक्षण गराउने गर्छौँ । हामी जुन ठाउँमा खेल्न गए पनि प्रथम हुने भएकाले धेरैजसोले खेलकुदमा मात्र ध्यान दिन्छन् भन्ने पनि गर्नुहुन्थ्यो । तर, हामीले नतिजा देखाउँदा अभिभावकहरू दङ्ग पर्ने पनि गर्नुभएको छ ।
राष्ट्रिय भलिबल टीमकी पूर्वकप्तान समेत रहनुभएकी मञ्जु गुरुङलगायत खेलाडी साफमा सहभागी हुन तीन महिना जाँदा पनि पढाइमा प्रथम हुनुभएका थियो । हाम्रा खेलाडीहरू खेलकुदसँगै पढाइमा पनि अब्बल हुनुहुन्छ । हाम्रो खेलाडी जुन स्थानमा गए पनि प्रथम नै भएर आउनुहुन्छ ।
राष्ट्रियस्तरमै पुग्नेगरी खेलाडीहरू उत्पादन सामान्य कुरा होइन । विद्यार्थीहरूलाई प्रशिक्षण कसले दिने गर्नुभएको छ ?
कृष्ण : भलिबलको खेल खेल्दाको सुरुवाती चरणमा जीवन चौधरी सरले प्रशिक्षण दिनुहुन्थ्यो । त्यसपछि क्रमश: बलराम चौधरी, रिम गुरुङ, सूर्य गुरुङ, विक्रम गुरुङ र कौशिला खत्री मिसले लामो समयसम्म प्रशिक्षण दिनुभएको हो । उहाँहरूकै कुशल प्रशिक्षणमा हाम्रा विद्यार्थीहरू पढाइसँगै राष्ट्रिय खेलाडी समेत बन्न सफल हुनुभयो ।
अहिलेचाहिँ विद्यालयले खेलकुदलाई कत्तिको निरन्तरता दिएको छ ?
शुभकन्या : मुख्यत: हाम्रो काम खेलाडी उत्पादन गर्नु नभइ पढाउनु नै हो । तर, हामीले थोरै मद्दत गर्दा उहाँको चाहना पूरा हुन्छ भने किन नगर्ने भन्ने मात्रै हो । तर, यो काम सधैं निजी क्षेत्रबाट मात्रै सम्भव हुँदैन र निरन्तरता दिन सकिएन । यसमा हामीलाई धेरै नै दु:ख लागेको छ । यद्यपि, सरकारले हाम्रो कामको मूल्याङकन गरेर केही सहयोग गर्यो भने पुन: निरन्तरता दिन हामी तयार छौँ ।
ज्ञानुबाबाका विद्यार्थी खेलाडी बनेर मात्रै स्थापित भएका छन् कि अन्य विधामा पनि स्थापित छन् ?
कृष्ण : हाम्रो स्कुलमा अध्ययन गर्ने अधिकांश खेलाडी नै बन्नुभएको छ । केही शिक्षक, वातावरणविद्देखि थुप्रै क्षेत्रमा स्थापित हुनुहुन्छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
शुभकन्या : जसरी आफ्नो अभिभावकले आफ्ना छोराछोरी सफल भएको हेर्न चाहानुहुन्छ त्यसैगरी हामी पनि हाम्रा विद्यार्थीहरू अघि बढेको हेर्न चाहान्छौँ । हाम्रो स्कुलमा अध्ययन गरेर र खेल खेलेर राष्ट्रियस्तरमा नाम चिनाउन सफल भएकामा सबै विद्यार्थीप्रति कृतज्ञ छौँ । अझै धेरै प्रगति र उन्नति गरेर थप नाम कमाउन शुभकामना दिन चाहान्छौँ ।
FACEBOOK COMMENTS