एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएका छन् ।
सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । सिनवार मारिँदा यो समूहलाई ठूलो झट्का लागेको छ ।
इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।
इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका थिए । हमास र इरानले हानियाको हत्याका लागि तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् ।
सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ ।
हालैका महिनाहरूमा इरान समर्थित अन्य कमान्डरहरूको पनि हत्या गरिएको छ । इजरायलले यसै वर्षको सुरुमा उसले हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई आक्रमणमा मारेको बताएको थियो । यद्यपि हमासले यसको पुष्टि गरेको छैन । देइफमाथि सिनवारसँग मिलेर अक्टोबर ७ को आक्रमणमा योजना बनाएको आरोप लगाइएको थियो ।
गाजा युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयमा हमास अत्यन्तै कमजोर भएको छ र सिनवारको मृत्युले हमासलाई ठूलो धक्का लागेको छ । सिनवार हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न एक लडाकू शरीरको डिएनए परीक्षण गरिरहेको एक इजरायली सुरक्षा अधिकारीले बताए । परीक्षणमा उनी भएको पुष्टी भएको हो ।
FACEBOOK COMMENTS