काठमाडौं । ईश्वी संवतको नयाँ वर्ष २०२२ सुरु हुँदै छ । यो संवत प्रचलनमा रहेका देशहरुले धूमधामका साथ नयाँ वर्षको स्वागत गरिरहेका छन् । नेपालमा भने अङ्ग्रेजी नयाँ बर्षलाई अलि फरक ढंगले अहिलेका युवा पुस्ताले मनाउन थालेका छन् ।
नेपालमा केही वर्षयता युवाहरुको सक्रियतामा जनवरी १ लाई टोपी दिवस का रूपमा मनाउन थालिएको छ । खासगरी अङ्ग्रेजी नयाँ बर्ष पर्ने यो दिनमा बिदेशमा बस्ने धेरै नेपालिले अङ्ग्रेजी नयाँ बर्ष र टोपी दिवस एक साथ मनाएका तस्बिरहरु सामाजिक संजालमा देख्न सकिन्छ ।
बर्षको एकदिन भएपनी नेपाली पोशाकमा भादगाउँले टोपी लगाउँदा पश्चिमा संस्कृतिको बढ्दो प्रभावलाई कम गर्न सकिने भन्दै युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन्। टोपी दिवस एक अभियानका रूपमा शुरू भए पनि अहिले यसले दिवसकै रुपमा निरन्तरता पाउन थालिसकेको छ ।
सामाजिक सञ्जालमा महिला पुरुष सबैले शिरमा ढाका र भादगाउँले टोपी लगाएको फोटोहरु पोस्ट गरिएको देखिन्छ । त्यतिमात्र होईन यो दिनमा विभिन्न कार्यक्रमको आयोजना गरि नेपालीले टोपी दिवस मनाउने गरेका छन् ।
टोपी दिवस मनाउँदा नेपाली कला, संस्कृति र मौलिकता जोगाउन सकिने भन्दै कतिपयले उक्त दिवसलाई पश्चिमा पर्वमा रमाउनुभन्दा सो अवसरलाई नेपाली शैलीमा रूपान्तरण गरेर मनाउँदा गर्व महसुस भएको बताउँछन् ।

पर्यटकीय स्थलहरुमा नयाँ वर्षको स्वागतमा गरिएको विभिन्न कार्यक्रममा टोपी दिवसको पनि शुभकामना आदानप्रदान गर्दै नेपालीहरुले मात्र होईन अहिले त विदेशी पर्यटकले समेत टोपी दिवस मनाउने गरेका छन् ।

विशेष गरी काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहा लगायतका स्थानमा विदेशीहरुले टोपी दिवस मनाएको दृश्य देख्न सकिन्छ ।