काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वको निर्णयविरुद्ध वैचारिक र संगठनात्मक विद्रोह आवश्यक भएको बताएका छन् । उनले अन्याय र अपमानजनक निर्णयको प्रतिरोध गर्नु आफ्नो राजनीतिक कर्तव्य भएको बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै गजुरेलले पार्टीभित्रको संघर्षमा रणनीति, धैर्य र समयको महत्व हुने उल्लेख गर्दै कतिपय अवस्थामा पछि हट्नु कमजोरी नभए पनि विकल्प नभएको अवस्थामा प्रतिरोध गर्नु अनिवार्य हुने बताएका छन् । उनका अनुसार नेतृत्वले गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले साथ दिन आग्रह गरेपछि आफू त्यसमा उभिएको बताए ।
उनले भनेका छन्– ’नेतृत्वले गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई मैले स्वीकार गरेको छु। जनवादी क्रान्तिको आधारभूमि रोल्पा बनेजस्तै, समाजवादी क्रान्तिको सम्भावित आधारभूमि बन्ने संकेत देखिएको प्रतिकात्मरुपमा पूर्वको रोल्पा भनिने गरिएको सिन्धुली जिल्ला पार्टीको शिर उचो राख्न साथ दिनु मेरो कर्तव्य हो। यस निर्णयप्रति मलाई कुनै पश्चाताप छैन–बरु गर्व छ । किनकि यसको पृष्ठभूमि विचार, नीति, संगठन, कार्यशैली र आचरणसँग अभिन्न रूपमा जोडिएको छ ।’
उनले सिन्धुली जिल्ला पार्टीको सम्मान जोगाउन आफूले साथ दिएको उल्लेख गर्दै यस निर्णयप्रति कुनै पश्चाताप नभएको बताएका छन् । विचार, नीति, संगठन र राजनीतिक आचरणसँग जोडिएको विषय भएकाले आफ्नो कदम सही रहेको उनको दाबी छ ।
गजुरेलले केही व्यक्तिहरूले आफूविरुद्ध भ्रम फैलाउने प्रयास गरेको आरोप पनि लगाएका छन् । विगतमा नेकपा विभाजन हुनबाट रोक्ने प्रयास गर्दा पनि आफूलाई अर्को पार्टीमा जाने तयारी गरेको भन्दै आरोप लगाइएको स्मरण गर्दै उनले समयले ती आरोप गलत सावित गरेको बताए । अहिले पनि कसैलाई जिताउन खेल खेलिएको आरोप लगाइए पनि झूट धेरै दिन टिक्न नसक्ने उनको भनाइ छ ।

उनले २०८२ असोज ९ गते बसेको केन्द्रीय समितिको बैठकमा आगामी महाधिवेशनसम्म नेतृत्वलाई रूपान्तरणका लागि समय दिनुपर्ने प्रस्ताव राखेको बताएका छन् । त्यस अवधिमा नेतृत्वले विचार, राजनीति, कार्यशैली र आचरणमा सुधार ल्याउने अपेक्षा राखिएको उनले बताए। यदि नेतृत्वमा सुधार नआए महाधिवेशनमा वैकल्पिक नेतृत्व अघि आउने सम्भावना रहेको कुरा त्यतिबेलै स्पष्ट पारेको उनको भनाइ छ ।

महाधिवेशनअघि टकराव सिर्जना गर्ने आफ्नो उद्देश्य नभएको उल्लेख गर्दै गजुरेलले संघीय संसदको टिकट वितरणमा अपनाइएको अनैतिक र अपारदर्शी प्रक्रियाले परिस्थिति बदलिएको बताएका छन्। अन्यायको अवस्थामा मौन बस्नु निष्क्रियता मात्र नभई अन्यायको समर्थन हुने भएकाले प्रतिरोध गर्न बाध्य भएको उनले बताए ।

उनका अनुसार यो कदम कुनै आवेगको परिणाम नभई परिस्थितिले अनिवार्य बनाएको निर्णय हो। विश्व इतिहासका धेरै आन्दोलनहरूमा जस्तै सानो कारणले पनि ठूलो असन्तोषलाई विस्फोट गराउन सक्ने उनले उल्लेख गर्दै संघीय संसदको निर्वाचनका क्रममा महेश्वर दाहालको स्वतन्त्र उम्मेदवारीलाई पनि त्यही सन्दर्भमा बुझ्नुपर्ने उनले बताए ।

गजुरेलले राजनीतिक सन्यास, पलायन वा प्रतिरोधमध्ये रोज्नुपर्ने अवस्था आएको भन्दै आफूले प्रतिरोधको बाटो रोजेको बताएका छन् । उनले यो विद्रोह कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको नभई विचार, विधि, मूल्य र राजनीतिक नैतिकताको पक्षमा भएको स्पष्ट पारेका छन् ।

उनले लामो समयसम्म नेतृत्व रूपान्तरणको आशामा पर्खनु आफ्नो कमजोरी भएको स्वीकार गर्दै अन्तत: अन्यायविरुद्ध आवाज उठाउनैपर्ने निष्कर्षमा पुगेको बताएका छन् । इतिहासले पनि अन्यायविरुद्ध उठेको साहसी आवाजकै पक्षमा उभिने भन्दै उनले परिवर्तन त्यहीँबाट सुरु हुने बताएका छन् ।
FACEBOOK COMMENTS