काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरेको हो ।
२०१५ साल साउन २० गते ओखलढुङ्गामा जन्मनुभएका कार्की कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए । महान्यायाधिवक्ताबाट राजीनामा दिएर कार्की न्यायाधीश नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी महान्यायाधिवक्ता थिए ।
उनी २०७२ असोज २८ देखि फागुन १८ गतेसम्म महान्यायाधिवक्ता बनेका थिए । महान्यायाधिवक्ता हुनुअघि उनीले नेपाल बार एसोसिएसनको नेतृत्व गरेको थियो । नेपाल बार एसोसिएसनको कार्यकाल पूरा नगरी कार्की महान्यायाधिवक्तामा नियुक्त भएका थिए । कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ गतेयता प्रधानन्यायाधीश पद रिक्त थियो । नियुक्ति विवादमा राजनीतिक सहमति भएसँगै कार्कीलाई सर्वसम्मत रूपमा सिफारिस गरिएको हो । उमेर हदका कारण २०८० साउन १९ गतेसम्म उनको कार्यकाल रहने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS