काठमाडौ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदवहाली गरेका छन् । उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताए । उनले भने, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।”
उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए । प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।
FACEBOOK COMMENTS