धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।
आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हाे । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ । धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।
धरान-५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको जनाइएको छ ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेपछि डोजर चलाइएको उपमहानगर पालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS