काठमाडौँ । बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । यी मुद्दाहरू सरकारी आवास परियोजनामा जग्गा बाँडफाँडमा अनियमिततासँग सम्बन्धित रहेको बताइएको छ ।
ढाकाको विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार हसिनालाई १० बर्ष जेलको फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा शेख हसिनालाई पाँच–पाँच वर्षको जेल सजाय सुनाएको छ ।
यी मुद्दाहरू राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा चलिरहेको राजुक नयाँ शहर परियोजनासँग सम्बन्धित छन् । त्यहाँ १० कट्ठाका दुई जग्गा अनुचित रूपमा बाँडफाँड गरिएको आरोप छ । अभियोजन पक्षका अनुसार, अभियुक्तहरूले आफ्नो पदको दुरुपयोग गरेर जग्गा बाँडफाँड प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत पर्दछ ।
शेख हसिना बाहेक, उनको परिवारका धेरै सदस्यहरूलाई पनि यी मुद्दाहरूमा दोषी ठहराइएको छ । ट्युलिप सिद्दिकीलाई कुल चार वर्षको जेल सजाय सुनाइएको छ, जबकि रदवान मुजीब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात–सात वर्षको सजाय सुनाइएको छ । अदालतमा आत्मसमर्पण गरेका राजुक सदस्य मोहम्मद खुर्शीद आलमलाई दुई वर्षको सजाय सुनाइएको छ । सबै अभियुक्तहरूलाई एक लाख टाका जरिवाना पनि तोकिएको छ । जरिवाना तिर्न नसकेमा थप छ महिना जेल सजाय हुनेछ ।
शेख हसिना हाल भारतमा बस्दै आएकी छिन् । उनलाई यसअघि आन्दोलनको क्रममा नरसंहार गरेको भन्दै मृत्युदण्डको सजाय समेत सुनाइसकिएको छ ।

FACEBOOK COMMENTS