काठमाडौं । नेपालको पहिचान र मौलिकता बोकेको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा हस्तकला व्यवसायीहरूले जोड दिएका छन् ।
सरकार र सरोकारवालाहरूले हस्तकला र हस्तकलासम्बन्धी सामग्रीहरूको उचित प्रवर्द्धन र बजारीकरणको वातावरण निर्माणको नीति लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् । कर्पोरेट खबर अनलाइन र कर्पोरेट खबर बिजनेश म्यागेजिनले आज बिहीबार राजधानीमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले मौलिक पहिचान बोकेको हस्तकला क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंको आसन्न ४१औं वार्षिका साधारण सभामार्फत हुने निर्वाचनका लागि घोषित उम्मेदवारहरूको उपस्थिति थियो । समसामयिक विषयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी अध्यक्षका उम्मेदवार किरण कुमार डङ्गोलले हस्तकला समृद्धिको साथी भएको बताउँदै यो क्षेत्रको दीगो विकासमा सरकार, सरोकारवाला निकाय र सम्पूर्ण व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले हस्तकला क्षेत्रका कलाकार, कालीगढ र व्यवसायीहरूको दीगो विकास र प्रवर्द्धनका कार्यक्रमहरूको निरन्तरता दिँदै थप नयाँ कार्यक्रमहरूको पहिचान गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । मौलिक पहिचान बोकेको तथा विदेशी मुद्रा आर्जनको माध्यम बनिरहेको हस्तकला क्षेत्रलाई सरकारले उचित महत्व नदिएको गुनासो उनले गरेका छन् ।
कार्यक्रममा सबिता सिंह महर्जन, नवीन शाक्य, रमेश सुनार, विक्रम सिंह महर्जन, मनमोहन सिंह मल्ल, दीपेन्द्र शाक्य, जीवनरत्न शाक्य, महिन्द्र सुनार र रत्नमणि बज्राचार्यलगायत उम्मेदवारहरू उपस्थिति थिए ।
उनीहरूले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनमा आफूहरूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समृद्ध नेपालको एउटैमात्र आधार हस्तकला क्षेत्र भएको दाबी गर्दै उनीहरूले कालीगढहरूले बनाएको सामानको बजारीकरण र व्यवस्थापन हुन नसक्दा कलाकारहरू पलायन भइरहेको अवस्था विद्यमान रहेकाले त्यसलाई रोकिने बचनबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सबै प्रदेशमा हस्तकला ग्राम खोल्न पहल गर्ने, प्रदर्शनी हलको प्रबन्ध गरी उत्पादित वस्तुहरूको नियमित प्रदर्शनी गरिने र थप रोजगारी सृजना गर्दै जाने उनीहरूको भनाइ छ । साथै सरकारले व्यवसायीलाई सहज ढङ्गले ऋण उपलब्ध गराउने वातावरण निर्माण गरिदिनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।
कार्यक्रममा उम्मेदवारहरूले प्रस्तुत गरेका आ–आफ्नो प्रतिबद्धता र चुनावी घोषणाबारेको विशेष सामग्री तलका भिडियोमा प्रस्तुत गरिएको छ–
FACEBOOK COMMENTS