काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । मेला यही मंसिर २८ गतेदेखि पुस २ गतेसम्म अन्नपूर्ण होटेलमा हुने छ ।
यस्तै सोही अवसर पारेर १८ औँ हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा भाग लिएका मध्ये तीन जना उत्कृष्ट कलाकारहरुलाई नगद पुरस्कार तथा सहभागि सबैलाई प्रमाणपत्रसमेत प्रदान गर्ने आयोजकले जानकारी दिए ।
मेलाको मुख्य उद्देश्य उद्यमी कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने रहेको महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।
यस्तै अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु समेत मेलाको मुख्य उद्देश्य रहेको बताइएको छ ।
मेलाको उद्घाटन राष्ट्रपतिबाट गर्ने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका राजदूतहरूको समेत उपस्थित रहने बताइएको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् ।
त्यसैगरी मेलामा महिला, अपांग र पिछडिएको वर्गलाई निशुल्क स्टल प्रदान गरने आयोजकले बताएको छ ।
मेला अवलोकन गर्ने आउनेहरुको लागी टिकट मुल्य १ सय तोकिएको छ भने जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेश हुने छ ।
FACEBOOK COMMENTS