काठमाडौं । लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।
कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार रूपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रूपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यसअघि लिखत सम्बन्धि कसूरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनेले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएको छ ।
उनीहरू उपर लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।
FACEBOOK COMMENTS