काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई ल्याएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । पोखरेलले गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । रिमाल भने उपमहासचिवमा पराजित भएका थिए ।
‘नयाँ नेतृत्व आए पनि पार्टीका निकायहरूको नेतृत्व पनि हेरफेर गर्नुपर्ने हुन्छ, अहिले उहाँलाई हटाउनु उपयुक्त हुन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो,’ ती नेताले भने । उपमहासचिव योगेश भट्टराईले पोखरेललाई प्रतिष्ठानबाट हटाउनु नहुने बताएका थिए । पार्टीको नीतिबारे अध्ययन र विमर्श गर्ने संस्थाको परिचय पाएको संस्थाको नेतृत्व त्यसरी हटाउन नहुने उनले बताए थिए ।
‘हामी चुनावमा जाँदै छौं। महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लिएर यहाँ जिम्मेवारी नदिने भन्ने हुँदैन, यसले राम्रो सन्देश जाँदैन । चितवनमा महासचिवमा प्रत्यासी सुरेन्द्र पाण्डेको नाम नै सिफारिस नगर्ने, यहाँ अध्यक्षमा प्रत्यासी बनेका ईश्वर पोखरेल हटाउने कुराले राम्रो सन्देश जाँदैन,’ उनले भनेका थिए । जबाफमा अध्यक्ष ओलीले रिमाल महाधिवेशनमा पराजित हुँदा आफूलाई दु:ख लागेको भन्दै जिम्मेवारी दिनै पर्ने बताएका थिए ।
FACEBOOK COMMENTS