काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको सदस्य नियुक्तिका विषयमा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले स्पष्टीकरण तीन दिनभित्र बुझाउन समयसीमा दिएको छ । बिमा बोर्डको सदस्य नियुक्ति र बैठकमा उपस्थितिबारे वास्तविकता के हो स्पष्टीकरण दिन भनेको छ ।
मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक पौडेललाई पनि आफ्नो भूमिका रहे अथवा नरहेको र माइन्युटको विषयका बारेमा प्रस्ट पार्न भनेको छ ।
निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन: बैठकमा सहभागी गराएको भन्दै विवाद भएपछि मन्त्रालयले सरोकारवालापक्षलाई स्पष्टीकरण सोधेको हो । यही विषयलाई लिएर श्रेष्ठका श्रीमान् तत्कालीन श्रममन्त्री दीपक साहलाई सरकारले पदमुक्त गरिसकेको छ ।