काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ ।
निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको छ । “दु्रत प्रतिकार्य टोलीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निर्वाचनमा घाइतेको उपचार, एम्बुलेन्सको समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने काम गर्छ । अस्पतालमा रहेका चिकित्सक रहेको चिकित्सकको टोलीले घाइतेको उपचार गर्नेछ”, प्रवक्ता डा बुढाथोकीले भने ।
उनले निर्वाचनका दिन अस्पतालले बहिरङग सेवा सञ्चालन नगरी आकस्मिक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए ।
यस्तै, मन्त्रालयले ७७ जिल्लामा रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

FACEBOOK COMMENTS