काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढाइएको शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रका कार्यक्रम कार्यान्वयन शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयनको विवरण सार्बजनिक गर्दै असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था १०९ वटा अस्पतालमा लागू भइसकेको जानकारी दिएको छ । यसको अनुगमनका लागि ‘निःशुल्क स्वास्थ्य पोर्टल’ अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
शासकीय सुधारलाई प्रभावकारी बनाउन अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय समिति गठन गरी कार्य अघि बढाइएको उल्लेख छ ।
त्यस्तै डिजिटल स्वास्थ्य प्रणालीतर्फ बिरामीको उपचार इतिहास व्यवस्थित गर्न एकीकृत सूचना प्रणाली विकास भइरहेको साथै अनावश्यक रिफर रोक्न ‘बिरामी प्रेषण निर्देशिका २०८२’ अनुसार अस्पतालहरूले आफ्नै प्रोटोकल लागू गर्न थालेको मन्त्रालयले जानकारी दिएको छ ।
अस्पताल सेवा सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरिएको छ र हालसम्म १७ वटा अस्पतालले प्रगति विवरण बुझाइसकेका छन् भने ९ अस्पतालमा सरसफाइ, हाजिरी र गुनासो व्यवस्थापनका लागि जिम्मेवार व्यक्ति तोकिएको छ ।

जलनका बिरामीको उपचार सेवा विस्तारका लागि २२ वटा अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । यसैगरी दुर्गम क्षेत्रका बिरामीका लागि हवाई एम्बुलेन्स सेवा व्यवस्थित गर्न १३ वटा विमान सेवा प्रदायकसँग समन्वय प्रक्रिया अघि बढाइएको छ ।

औषधि व्यवस्थापनतर्फ सरकारी अस्पतालमा ‘सुलभ फार्मेसी’ मार्फत सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ भने मन्त्रालयले औषधि व्यवस्थापन सुधारका लागि विशेष कार्ययोजना पनि लागू गरेको जनाएको छ ।