हाम्रो मस्तिष्कमा करोडौँ स-साना नसाका न्युरोनहरूको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरू छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्गजस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरकफरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ । शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरू हामीले देख्न, अनुभव गर्न सक्छाैँ भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरूद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रूपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ ।
छारेरोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्न सक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रूपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयमा जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिँज आउने, र्याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरीर काठजस्तै कडा बनाउने लक्षण देखिन्छन् । कतिपय लक्षणमा दिसापिसाबसमेत नियन्त्रणमा हुँदैन । सामान्यतया यस्तो अवस्था २०-३० सेकेण्ड रहन्छ र बिस्तारै पहिलेकै अवस्थामा आउँछन् ।
नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्ख्याको एक प्रतिशतलाई छारेरोग हुन्छ भनेको छ । त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारेरोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ । विश्वभरि ५० मिलियन मानिसलाई छारेरोग छ । त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ । छारेरोग विश्वमा नसासम्बन्धी रोगहरूमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याका रूपमा रहेको पाइन्छ । छारेरोगकै कारण कतिपयले बीचमै पढाइ छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । महिलाहरूमा यो जटिलता अझ बढी रहेको पाइन्छ । विवाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ ।
नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिस उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् । औषधिको सेवनबाट उनीहरूको रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ । यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रूपमा रहेको छ ।
कस्ता व्यक्तिमा लाग्दछ ?
यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुन सक्छ । किनकि यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यो रोग बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरू हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्युमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ ।
रोगको उपचार विधि केके छन् ?
यस्ता लक्षणहरूका आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ । छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभए पनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक अवस्थामा निकै ठूलो असर पारेको हुन्छ र उनीहरूको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरू थुप्रै अवसरहरूबाट बञ्चित हुनु पर्दछ ।
सबैभन्दा पहिले त औषधिबाटै छारेरोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरी शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो ईईजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५-३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरूलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि बिस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरूले जीवनभर नै औषधि खानुपर्ने हुन्छ ।
औषधिले पनि निको नभए भीएनएस (भेगर्स नर्भ स्टिमुलेसन) प्रविधिबाट उपचार गरिन्छ । भीएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरीरमा जडान गरिन्छ । यो प्रविधि निकै महँगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रूपैयाँ पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई/तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिना मात्रै भएको छ । हाल यो सुविधा वीर अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ ।
छारेरोगबाट बच्ने कसरी ?
कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर, यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाट बच्नका लागि केही उपायहरूमा ध्यान दिन सकिन्छ ।
–गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्न सक्छ र त्यसले पछि बच्चा छारेरोगी हुन पुग्छ ।
–रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सी सेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्न सक्छ र त्यसले छारेरोग हुन सक्छ ।
–सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारेरोग हुने सम्भावना रहन्छ ।
–छारेरोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ ।
–मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारेरोगको जोखिम धेरै हदसम्म कम हुन्छ ।
अरूको भूमिका कस्तो हुनुपर्छ ?
छारेरोग जोकोहीलाई पनि हुन सक्ने हुँदा उनीहरूलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहार गर्नुपर्दछ । उनीहरूमा उच्च मनोबल ल्याउनुपर्छ । छारेरोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपर्छ, ताकि टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनु हुँदैन । बरू उसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ ।
परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरूको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन् । त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट छारेरोगको उपचार हुन्छ ।
(वीर अस्पतालका स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्राडा झासँग गरिएको कुराकानीमा आधारित)
FACEBOOK COMMENTS