युवाहरूमा समेत अहिले ढाड दुखाइको समस्या बढ्न थालेको छ । तर, तत्कालै समस्या देखिनेभन्दा ढाड दुखाइको पृष्ठभूमि पहिले नै तयार भइरहेको हुन्छ । आधुनिक युगमा उपलब्ध शहरी सुविधाका कारण धेरैजसो कम्प्युटरमा लामो समय काम गर्छौं । बसेर लगातार टीभी हेर्ने गर्छौं ।
लामो समयसम्म एकै ठाउँमा बस्दा ढाडको मांसपेशीको रक्त सञ्चालन राम्रोसँग हुँदैन । मोटरसाइकल, ल्यापटप वा मोबाइल धेरै चलाउने व्यक्तिको घाँटी अगाडि तन्किन्छ ।
कहिलेकाहीँ एउटै स्थितिमा रहँदा–बस्दा पनि ढाड दुखेजस्तो हुन्छ । तर, केही छिनमा ठीक भएपछि वास्ता गर्न छाडिन्छ । यसरी हलचल नगरेर बस्दा ढाडका मांसपेशी बिस्तारै कमजोर भएर शक्ति क्षीण बन्दै जान्छन् । यसरी शक्ति क्षीण भएका बेला कुनै झट्का लाग्यो, केही उचाल्यो भने बेस्सरी दुख्छ ।
कहिलेकाहीँ पिसाब थैली, नली वा मिर्गौलाको संक्रमण हुँदा पनि ढाड दुख्ने समस्या हुन्छ । तर, पिसाबमा संक्रमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाकी लाग्ने पनि हुन्छ ।
कसैलाई मानसिक तनाव परेका बेलामा पनि ढाड दुख्न सक्छ । अस्थिरोग विज्ञको भनाइअनुसार ८० प्रतिशत ढाड दुखाइको समस्या त्यति जटिल हुँदैन ।
विज्ञहरूका अनुसार नेपालमा ढाड दुख्ने समस्या भएका व्यक्तिको संख्या बढेको छ । डाक्टरकहाँ आउने बिरामीमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरूरत पर्दैन, आराम र औषधिले ठीक हुन्छ ।
केवल १० प्रतिशतलाई मात्र शल्यक्रियाको जरूरत पर्न सक्छ । अमेरिकामा शल्यक्रिया गरेका व्यक्तिमध्ये २० प्रतिशतलाई खास कुनै फाइदा नभएको देखिएको छ ।
ढाड दुख्ने मुख्य कारणमा नराम्रो तरिकाको बसाइ, बढी मोटोपन र अहिलेको व्यस्त जीवन, कसरतको अभाव हुन् । ढाड दुख्नुको मतलब ढाडका मांसपेशीका तन्तु कमजोर हुनु हो । महत्त्वपूर्ण त ती तन्तुलाई आराम दिनुपर्छ । तर, पूर्ण रूपमा सुतिरहनु पर्दैन । ढाड दुख्नेबित्तिकै एक्स-रे गरिहाल्नु पर्दैन । केही दिन आराम गरेर औषधि खाँदा पनि दुखाइ कम भएन भने मात्र एक्स-रे र अन्य जाँच गर्नुपर्ने अवस्था आउँछ ।
पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाडसँगै पिँडुला दुख्यो भने, पिसाब फेर्न कठिनाइ पर्यो भने, लगातार सुत्दाखेरि दुखाइ झन् बढ्यो भने विज्ञहरूको सल्लाह तुरून्त लिइहाल्नुपर्छ ।
स्त्रीरोगका कारण पनि ढाड दुख्ने समस्या हुन सक्छ कि भनेर मैले डा. मीरा ओझासँग पनि केही समयअघि कुराकानी गरेकी थिएँ । उहाँको भनाइअनुसार महिलाहरूलाई ढाड दुख्ने समस्या विभिन्न कारणले हुन सक्छ । पाठेघरको संक्रमण, पाठेघरको मुखमा घाउ हुँदाबाहेक महिनावारी हुँदा कसैकसैमा ढाड दुख्ने गर्छ ।
पाठेघर आफ्नो स्थानबाट खस्दा पनि ढाड दुख्छ । त्यस्तै महिनावारी हुँदा प्रयोग गरिने कपडा सफा नभएर प्रजनन अंगमा संक्रमण हुँदा, मूत्रनलीको संक्रमण हुँदा पनि ढाड दुख्न सक्छ ।
मैले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा कम्प्युटरमा लगातार २-३ घण्टा टाँसिएर नबस्नु भन्ने सिकेकाले त्यसलाई प्रयोग गरेकी छु ।
ढाडको दुखाइ गम्भीर प्रकृतिको छैन भने आराम गर्नाले दुखाइ आफैं कम हुन्छ । विज्ञहरूले ढाड दुखेको ठाउँमा पहिलो २४ घण्टा चिसोले र पछि तातो पानीले सेक्ने सल्लाह दिन्छन् ।
नेपालमा महिलालाई मोटोपनका कारण ढाड र घुँडा दुख्ने समस्या बढेको हुन सक्छ । पछिल्लो तथ्यांकअनुसार ३५ प्रतिशत नेपाली महिला मोटा छन् । स्वस्थ भोजन, जीवनशैली, हिँडाइले तौल ठीक राख्न र मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
तौल घटाउँदा र ढाडमा समस्या नपरोस् भनेर योगका केही आसन गर्दा समस्या न्यूनीकरण गर्न सक्छ । मांसपेशीलाई लचिलो बनाई रक्त सञ्चालन राम्रो बनाएपछि ढाडका मांसपेशी चाँडै थाक्दैनन् ।
मार्जरी आसन, ताडासन, बालाआसन, उत्तनापाद आसन, हस्त पादासन र सूर्य नमस्कारलाई आफूमा दैनिक लागू गर्नुपर्छ ।
त्यसैले हरेक दिन २०-३० मिनेट हिँड्ने र ८-१० घण्टा मेचमा बसेर काम गर्नेले हरेक एक-दुई घण्टामा मेचबाट उठेर हिँडडुल गर्नुपर्छ । यसले गर्दा ढाडको मांसपेशीको रक्तसञ्चालनमा अवरोध भएर मांसपेशी थाक्ने प्रक्रिया कम हुन्छ ।
पिसाबको संक्रमणका कारण ढाड दुखेको हो भन्ने विभिन्न किसिमका अन्य लक्षण पनि हुन्छन् । यस्तो बेला तुरून्त स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।
FACEBOOK COMMENTS