काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताएकी छन्।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मतदातालाई सचेत बनाउन सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सकारात्मक देखिएको उनले बताएकी हुन् । विशेषगरी महिला स्वास्थ्य स्वयंसेविकामार्फत गाउँगाउँमा पुगेको जानकारीले मतदातामा मतदानसम्बन्धी बुझाइ बढेको उनको भनाइ छ ।
उनले भनिन्– ’हरेक निर्वाचनमा मतदातालाई सुसूचित गर्ने र जानकार बनाउनेकार्य निकै पेचिलो हुने गरेको छ । मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वंयसेवकहरू पहिचान गर्ने कार्य पनि चुनौतीपूर्ण छ । महिला स्वास्थ्य स्वंयसेविकाले हाम्रो ग्रामीण क्षेत्रमा जनस्वास्थ्यका क्षेत्रमा सरकारका कार्यक्रमलाई सहयोग पुर्याएर स्वास्थ्य सेवालाई सफल बनाउन मद्दत पुगेको छ । यस क्षेत्रमा उहाँको योगदान निकै ठूलो छ । उहाँहरू आफ्नो कार्यक्षेत्र रहेको गाउँवस्तीमा घरघर पुग्न सक्ने व्यक्ति हुनुहुन्छ ।’
आयोगले आसन्न निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म देशभरका छ हजार ७४३ वडामा स्वयंसेवकमार्फत आयोगले मतदाता शिक्षा प्रदान गरिरहेको छ । आयोगले मतदाता शिक्षा स्वयंसेवकमा स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वंयसेविकाहरूलाई प्राथमिकता दिएर परिचालन पनि गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा विघटन भएको वा कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरिएको हो। निर्वाचन आयोगका अनुसार मतदानबाहेक निर्वाचनसम्बन्धी अधिकांश तयारी पूरा भइसकेको छ ।

देशभरका जिल्लामा मतपत्र तथा आवश्यक निर्वाचन सामग्री पठाइसकिएको छ भने मतदान अधिकृतसहित कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिन थालेका छन् । निर्वाचन आयुक्त तुलाधरले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पार्दै चुनाव सर्ने भन्ने हल्लामा विश्वास नगर्न मतदातालाई आग्रह गरिन्। उनले शान्तिपूर्ण र निर्भय वातावरणमा मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न सबै नागरिकलाई अपिल समेत गरेकी छन् । आयोगले निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था समेत मजबुत बनाइएको जनाएको छ ।

FACEBOOK COMMENTS