नेपालमा एस्थेटिक अर्थात् सौन्दर्यसम्बन्धी सेवा दिँदै आएको साविकको हेल्दी च्वाइस क्लिनिक अब ‘हेल्दी च्वाइस एस्थेटिक हस्पिटलको रूपमा अगाडि आएको छ । नेपाल सरकारबाट अस्पताल चलाउने अनुमति पाएर सेवा अपग्रेड गरेसँगै हेल्दी च्वाइस नेपालमै पहिलो एस्थेटिक हस्पिटल समेत बनेको छ ।
सन् २०१७ मा डा. उदिप श्रेष्ठसहितले सुरूमा पोषण (Nutrition) को सेवा दिनेगरी स्थापना गरेको हेल्दी च्वाइसले राम्रोसँग काम गर्न पाएको करिब सात वर्षमात्रै भएको छ । क्लिनिक स्थापनापछि अध्ययनका लागि आफू विदेश जान परेको तथा कोभिड महामारीका कारण पनि स्मुथ्ली काम गर्न नपाएको हेल्दी च्वाइस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. उदिप श्रेष्ठ बताउँछन् । उच्च गुणस्तरको ट्याटु रिमुभर र काखीबाट धेरै पसिना आउने (Hyperhidrosis) समस्याको आजीवन उपचार सेवा समेत थप गर्न लागेको हेल्दी च्वाइसलाई उनले नेपालकै ‘कस्मेटिक सिटी’ बनाउने योजना समेत हामीलाई सुनाए ।
हाल प्रतिमहिना करिब ८०० जनालाई सेवा प्रवाह गरिरहेको, कपाल र छालाको सुन्दरता वृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको तथा नेपालमा एस्थेटिकसम्बन्धी नयाँ–नयाँ प्रविधि र मेशिनहरू भित्र्याउँदै सेवालाई एकपछि अर्को गुणस्तर बनाउँदै लगिरहेको अस्पतालले भावी दिनमा आफूलाई थप नयाँ उचाइमा लैजान के–कस्तो योजना बनाएको छ ? कपाल प्रत्यारोपरण र छालाको सुन्दरता किन आवश्यक छ ? उमेर नपुग्दै मानिसहरूको कपाल तथा दाह्री फुल्ने र झर्ने समस्या किन बढिरहेको छ ? के यसको कुनै रोकथाम र उपचारको भरपर्दो विधि छैन ? यी र यस्तै विषयमा कर्पोरेट खबरले हेल्दी च्वाइस एस्थेटिक हस्पिटलका सीईओ डा. श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ डा. श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश–
हेल्दी च्वाइस क्लिनिक कस्तो स्वास्थ्य संस्था हो ?
हेल्दी च्वाइस एस्थेटिक हस्पिटल हो । यसले आधुनिक प्लास्टिक सर्जरी र सौन्दर्यसम्बन्धी काम गर्दछ । हेल्दी च्वाइसलाई छाला, प्लास्टिक सर्जरी र कपालसम्बन्धी उपचार र प्रत्यारोपणलाई प्राथमिकता दिएर अघि बढाइरहेका छौँ । तौल घटाउने वा बढाउने, बडी टोनिङ र कन्टुरिङ मिसिङ पोइन्टसम्बन्धी उपचार पनि हामी गर्दछौँ ।
यहाँ के–कस्ता सेवा तथा सुविधाहरू उपलब्ध छन् ?
हामीले अहिले त्वचा विज्ञान (Dermatology), पोषण (Nutrition), प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी (Cosmetic Gynaecology) र मुटु (Cardiology) सम्बन्धी विभाग बनाएरै उपचार सेवा उपलब्ध गराएका छौँ । डर्माटोलोजीअन्तर्गत छाला र कपालसम्बन्धी उपचार र आवश्यकता अनुसार प्रत्यारोपण गर्ने सेवा उपलब्ध छ । यसअन्तर्गत पिम्पल्स (Acne), चायाँपोतो (Melasma), मुँहासे, सौन्दर्य, सुधार, बुढ्यौली, दाग, संवेदनशीलता, नचाहिने वा अत्यधिक कपालको उपचार, पिग्मेन्टेसन आदि सेवा उपलब्ध छ । यस्तै, न्युट्रेशनअन्तर्गत मानिसको शरीरको तौल र बोसो घटाउने वा बढाउनेसम्बन्धी सेवा उपलब्ध गराइएको छ । यस्तै, रोग विशिष्ट आहार योजना जस्तै: मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, ट्राइग्लसराइड्स, उच्च यूरिक एसिडलगायत समस्याको पनि समाधान हेल्दी च्वाइसमा गरिन्छ ।
यसैगरी, प्लास्टिक सर्जरीअन्तर्गत अनुहारमा आएका समस्या जस्तै: बिग्रेको नाक, आँखाको झोला बनाउने सुविधा उपलब्ध छ । यसअन्तर्गत स्कर्स रिभिजन, मोल्स, लिपोमा, सिस्ट, ट्युमर हटाउने, फ्याट ग्राफ्टिङ, डिम्पलप्लास्टी, राइनोप्लास्टी (नोज रिसेपिङ), एसियन आइलिड (मंगोलियन आइ), माथिल्लो ब्लेफेरोप्लास्टी, तल्लो आँखाको झोला हटाउने, कानको विकृति सुधार (ओटोप्लास्टी), फेसलिफ्ट, लिप इन्लार्जमेन्ट/लिप रिडक्सन/लिप लिफ्ट, ब्रेस्ट इन्लार्जमेन्ट (सिलिकन इम्प्लान्ट/फ्याट ग्राफ्ट), ब्रेस्ट लिफ्ट, ब्रेस्ट रिडक्सन, गाइनेकोमास्टिया (पुरुष स्तन घटाउने) एबडोमिनोप्लास्टी (टम्मी टक) सम्बन्धी सेवा उपलब्ध छ । यसैगरी मुटुसम्बन्धी उपचारको सेवा पनि हेल्दी च्वाइस एस्थेटिक हस्पिटलबाट उपलब्ध गराइरहेका छौँ ।
यस्तै, कस्मेटिक गाइनोकोलोजीअन्तर्गत योनीनोप्लास्टी/ लेबियाप्लास्टी, हाइमेनोप्लास्टी, हुडेक्टमी, मोन्सप्लास्टी, हाइमेनोप्लास्टीसम्बन्धी सेवा हामीले उपलब्ध गराइरहेका छौँ । यसैगरी, शरीर जेट लिपोसक्शनसम्बन्धी सेवा पनि हेल्दी च्वाइस हस्पिटलमा उपलब्ध छन् ।
यी सेवा तथा सुविधाहरू प्रदान गर्न को–को चिकित्सकहरू खटिनुभएको छ ?
हामीले हाम्रा सबै विभागहरूमा विशेषज्ञ डाक्टरहरूको व्यवस्था गरेका छौँ । जस्तै: ड्रर्माटोलोजीमा डा. आमी प्रधान, अनिशा जोशी प्लास्टिक सर्जरीमा डा. सरिना राजभण्डारी तथा कार्डियोमा डा. दर्शन गुरुङ हुनुहुन्छ । यस्तै, गाइनोकोलोजीमा डा. प्रियङ्का त्रिपाठी, आयुष अधिकारी (Dietitian) र लिपोसक्शन विशेषज्ञमा डा. विबेक खड्का हुनुहुन्छ ।
कपाल र छालासम्बन्धी के कस्ता समस्या लिएर मानिसहरू यहाँ आउँछन् ?
धेरै मानिसहरू कपाल झर्ने समस्या लिएर हामीकहाँ आउने गर्नुभएको छ । यहाँ आउनुहुनेमध्ये कतिपयको वंशाणुगत गुणका कारण झरेको हुन्छ । उहाँहरूको कपाल झर्नबाट हामी रोक्न सक्दैनौँ, जे गरे पनि झरिहाल्छ । तर, जसको त्यस्तो छैन उहाँहरूको हामीले सफल उपचार गरेर पठाउने गरेका छौँ । यस्तै, छालासम्बन्धी पिम्पल्स (Acne), चायाँपोतो (Melasma), ट्याटु रिमुभर (Tattoo removal), दाग घटाउने (Scars reduction), दागहरू (Freckles), तिलहरू (Moles), झुर्रियाँ (Wrinkles), एलर्जी (Allergy), धेरै पसिना आउने (Hyperhidrosis) र दादहरूको समस्या लिएर आउने गर्नुभएको छ । यस्तै राम्रो हुनका लागि हामीकहाँ धेरै मानिसहरू आउनु गर्नुभएको छ ।
हेल्दी च्वाइसले प्रवाह गर्ने सेवा तथा सुविधाहरूको मूल्य कस्तो छ ? के मध्यम र तल्लो वर्गकाहरूले पनि यो सेवा उपभोग गर्न सक्दछन् ?
एस्थेटिक हस्पिटलहरूमा प्राय: मूल्य फरक–फरक पाउनुहुन्छ । किनभने कसले कुन मेशिन प्रयोग गरेर परीक्षण र उपचार गरिएको छ भन्ने कुराले मूल्य निर्धारण गर्दछ । हेल्दी च्वाइसको कुरा गर्नुहुन्छ भने हामीले उपचार र उपचारपछि पनि कुनै समस्या नआओस् भन्ने उद्देश्यका साथ महङ्गा प्रविधि र मेशिनहरू नै प्रयोग गरिरहेका छौँ । त्यसकारण हाम्रोमा पनि मूल्य केही उच्च देखिन्छ । तर, उपचारबाट शतप्रतिशत व्यक्तिहरू सन्तुष्ट हुनुहुन्छ । राम्रो उपचार चाहानेले मूल्यसँग कहिल्यै पनि सम्झौता गर्नुहुन्न भन्ने हाम्रो बुझाइ छ ।
जहाँसम्म मध्यम र तल्लो वर्गका व्यक्तिहरूको कुरा छ । त्यसमा भन्नुपर्दा हाम्रो उपचार सेवा खासै महङ्गो होइन । यही मेशिन प्रयोग गरेर अमेरिकालगायत देशहरूमा हुने यस्तै उपचाहरूको मूल्य हामीलाई ६ गुणासम्म महङ्गो पर्न जान्छ । किनभने त्यहाँ डाक्टर र नर्सहरूको सर्भिस चार्ज उच्च छ । त्यसको तुलनामा हामीले लिने शुल्क अत्येन्तै न्यून हो । अर्को कुरा मध्यम र निम्न वर्गका महानुभावहरूलाई सस्तो हो वा महङ्गो भन्ने कुरा यो उपचार सेवा आवश्यक हो कि होइन भन्ने कुराले नै निर्धारण गर्दछ । किनभने यो गर्नैपर्छ भन्ने त छैन, तर आधुनिक जमानामा सुन्दरता नै मानिसको गहना बन्न थालेकाले सबैले यो उपचार सेवालाई अपनाउन थाल्नुभएको देखिन्छ । जसलाई आवश्यक हो, उसले मूल्य हेर्दैहेर्दैन ।
नेपालमा हेयर ट्रान्सप्लान्टको सफलता वा असफलताको अवस्था कस्तो छ ?
हामीले सबै उपचारलाई अधिकतम सफल बनाएका छौँ । किनभने यहाँ आउनुहुने सेवाग्राहीलाई हामीले उहाँको समस्याको अवस्था हेरे पहिला नै यतिसम्म गर्न सकिन्छ भनेर काउन्सिलिङ गर्ने गर्दछौँ । जति हुने र सकिने हो त्यति मात्रै उपचार गर्छौं । नहुने कुराको उपचारमा लागेर क्लाइन्टलाई पीडा दिने र आर्थिक रूपमा समेत समस्या पार्ने हाम्रो मनसाय रहँदैन । त्यसकारण पनि अहिलेसम्म हेल्दी च्वाइसमा आउनुभएकाहरू अधिकतम सफल उपचार गराएर मात्रै फर्किनुभएको छ । कतिपयको समस्या समाधान सम्भव छैन भने हामी कोसिस गरेर बस्दैनौँ, आवश्यक काउन्सिलिङ गरेर पहिले नै घर फर्काइदिन्छौँ ।
प्रत्यारोपण गरिएको कपाल कतिसम्म लङलास्टिङ हुन्छ ?
कपाल टिकाउको सन्दर्भमा तपाइँले कहाँको कपाल लिएर प्रत्यारोपण गर्नुभयो भन्ने कुरामा निर्भर रहन्छ । सेफ डोनर एरिया (टाउको पछाडिको भाग) बाट लिइएको कपाल अधिकतम टिकाउन हुन्छ । अर्थात् २०–२५ वर्षसम्म रहन सक्छ । तर, कपाल झरिरहेको एरियाबाटै कपाल लिएर प्रत्यारोपण गराउनुभएको छ भने त्यो धेरै टिकाउन हुँदैन । किनभने ‘बीउ गतिलो भए बोट गतिलो हुन्छ’ भन्ने त हाम्रो उखान नै छ नि । यदि तपाइँले याद गर्नुभएको छ भने धेरैजसो मानिसको अगाडि भागमा कपाल झरे पनि पछाडि भागमा राम्रो रहेको हुन्छ । त्यही राम्रो एरियाबाट लिने हो । त्यसो गर्दा त्यो एरियाको कपाल झर्ने खालको हो वा नझर्ने त्यो यकिन गर्न सक्नुपर्दछ ।
‘रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो’ भन्ने भनाइ छ । वास्तवमा हामीले आफ्नो छाला, कपाल, सुन्दरताका साथै समग्र स्वास्थ्यको हेरचाह कसरी गर्न सक्छौँ ? केही टिप्स पनि दिनुहोस् न ।
यो आम भनाइ मलाई पनि मन पर्छ र रोग लाग्न नदिनु नै राम्रो हो भन्ने कुरामा कसैको दुईमत रहने कुरै भएन । तर, हेल्दी च्वाइस हस्पिटलमा आउनुहुनेहरूलाई हामी बिरामी भन्दैनौँ । किनभने सुन्दरता बिग्रिनु कुनै रोग होइन, समस्या मात्र हो जसको समाधान पनि छ । हामीकहाँ कपाल झर्नुलाई कुनै रोगको लक्षणका रूपमा पनि लिने गरेको पाइन्छ । तर, त्यो धेरै जस्तो केसमा बिल्कुलै गलत बुझाई हो । क्यान्सर लागेर उपचार गरिएको बिरामीले प्रयोग गर्ने औषधिका कारण मानिसको कपाल झर्छ । तर, यदि उसले त्यो रोगलाई किमोथेरापी (Chemotherapy) वा रेडियोलोजी (Radiology) उपचारबाट जित्यो भने टाउकोमा पुन: कपाल आफैं उम्रिने गर्दछ भनेपछि कपाल झर्नु धेरै जस्तो केसमा कुनै रोग वा रोगको लक्षण होइन । अब छालाको सन्दर्भमा कुरा गर्ने हो भने अल्ट्रा भ्वाइलेन्ट किरणका कारण हाम्रो छालामा अनेक समस्याहरू देखिने गरेको छ । त्यसबाट जोगिनु नै राम्रो उपाय हो । त्यसका लागि भिटामिन सिरोम, सनस्क्रिन र मोस्चराइज राम्रो लगाउनुपर्ने हुन्छ । यसले छालाको आयु बढाउँछ ।
तपाइँहरूले केही वर्षअघि पानीको फोहोराबाटै शरीरको बोसो घटाउने नयाँ प्रविधि नेपाल भित्र्याउनुभएको थियो, त्यसको प्रभावकारिता कस्तो रह्यो ?
यो जर्मनीको मेशिन हो । नेपालमा हामीले नै पहिलो प्रयोग गरेका थियौँ । अहिले ग्राण्डी अस्पिटलमा यस्तो मेशिन प्रयोगमा ल्याइएको छ । यो मेशिन ल्याएपछि शरीरको बोसो घटाउने सजिलो र छिटो हुन थालेको छ । पुरानो विधिबाट बोसो घटाउँदा क्लाइन्ट हस्पिटलमै बस्नुपर्ने, एक लिटर बोसो घटाउन पनि धेरै समय लाग्ने अवस्था थियो । यो प्रविधिको सहयोगमा अहिले निकै छिटो र राम्रो काम हुन थालेको छ । यो प्रविधिमार्फत बोसो घटाउने उपचार गर्दा छालाबाट सानो प्वाल बनाएर पानीको फोहोरा पठाइन्छ र बोसो पगालेर निकालिन्छ । पहिला दुई–चार घण्टासम्म लाग्ने उपचार अहिले ४५ मिनेटदेखि डेढ घण्टासम्ममा सम्पन्न गर्ने गरिएको छ । एक दिनमा ६ लिटरसम्म बोसो निकाल्न सकिन्छ । बोसोे निकालिसकेपछि व्यक्तिले आफूलाई मेन्टेन गर्ने हो भने समस्या दोहोरिँदैन ।
पछिल्लो समय उमेर नपुग्दै कपाल फुल्ने र झर्ने समस्याबाट धेरै मानिस पीडित छन् । यसको रोकथाम हेरचाहको उपायहरू के–के हुन् ?
यो विषयमा मेडिकल्ली भन्दा पनि व्यावहारिक दृष्टिकोणबाट हेरिनुपर्दछ भन्ने मलाई लागेको छ । अब मेरो विचारमा भन्नुहुन्छ भने यो कपाल झर्ने र फुल्ने कुरा पहिलादेखि हुँदै आएको कुरा हो । तर, अहिले र पहिलेको समय र व्यावहारमा केही फरक आएका कारण मानिसहरूलाई त्यस्तो लागेको हुनसक्छ । जस्तो: पहिला–पहिला १५–१६ वर्षमै विवाह हुन्थ्यो, २५ वर्ष पुग्दा त करिब आधा दर्जन जति सन्ताको बुबा–आमा बनिसक्थे । त्यसपछि झर्ने र फुल्ने कपालसँग मानिसले कुनै वास्ता नै गर्दैनथे । किनभने उहाँहरू आफू स्वयम्लाई बुढो भइसकेको फिलिङ हुन्थ्यो । तर, अहिले समय त्यस्तो छैन । ३०–३५ वर्ष नभए विवाह गर्नै छाडेका छन् । तर, उसको कपाल झर्ने र फुल्ने काम २२–२५ देखि नै सुरू भइसकेको हुन्छ । विवाह नगर्दा आफूलाई युवा र जवान भएजस्तो ठान्दा पनि यो समस्याको रूपमा देखिएको होला । अन्यथा यो समस्यै होइन भन्ने मेरो बुझाइ छ । अहिलेको सामाजिक सञ्जालको दुनियाँले पनि मानिसलाई यो कुराको नोटिस गराएको हो । यसलाई समस्या नमान्दा हुन्छ । यसरी कपाल झर्नुमा विशेषगरी तनाव बढ्नु, पोषणको कमी हुनु र जीवनशैली (Lifestyle) परिवर्तन पनि हो ।
हेल्दी च्वाइस क्लिनिकबाट ‘हेल्दी च्वाइस एस्थेटिक हस्पिटल’मा अपग्रेड भएको छ । अबचाहिँ यहाँबाट प्रवाह हुने सेवा तथा सुविधाहरूमा के कस्तो भिन्नता पाउन सकिन्छ ?
सेवासुविधामा भिन्नता भन्दा पनि अहिले दिइरहेको सेवालाई उत्कृष्ट बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो । त्यसैका लागि हामीले हेल्दी च्वाइसलाई हस्पिटलको रूपमा अघि बढाउन लागेका हौँ । हस्पिटलमा परिणत भएसँगै अब हामी धेरैजस्तो एस्थेटिकसम्बन्धी संसारभर पाइने सेवाहरू नेपालमै उपलब्ध गराउनेगरी थप गर्दै जाने योजनामा छौँ । एस्थेटिकका सेवाग्राहीका लागि खासमा शैय्या आवश्यक पर्दैन । किनभने हरेक उपचार एकदिनमै सम्पन्न हुने खालमा हुन्छन् । तै पनि नियम अनुसार केही विरामीलाई राख्नैपर्ने हुन्छ । अन्यथा कसैलाई पनि अस्पतालमा एड्मिट हुन जरुरी पर्दैन ।
योसँगै हामीले अब प्राय: काखीबाट धेरै पसिना आउने (Hyperhidrosis) को समस्याबाट पीडित हुनुभएकाहरूलाई लक्षित गरी आधुनिक प्रविधिको अमेरिकन मेशिन भित्र्याउँदैछौँ । जसको प्रयोगबाट एकचोटी उपचार गर्दा जीवनभर काखीबाट धेरै पसिना आउने र गन्हाउने समस्याबाट ढाटा रहन सकिन्छ । अहिले नेपालमा यसका लागि हरेक चार/चार महिनामा बोटोक्स इन्जेक्सन लगाएर उपचार भइरहेको छ । तर, हामीले नेपालमै पहिलोपटक यो अत्याधुनिक मेशिन भित्र्याउन लागेका छौँ ।
यसैगरी, उच्च गुणस्तरको छाला कडा हुनु (Skin tightening), चिरफारबिनै अनुहार र चिउँडो मिलाउने (non-surgical face lift double chin reduction) र ट्याटु रिमुभर मेशिन समेत नेपाल भित्र्याएर हेल्दी च्वाइसलाई अब ‘कस्मेटिक सिटी’ बनाउनेगरी हामी काममा खटिएका छौँ । – प्रस्तुति : ज्योति जीसी
FACEBOOK COMMENTS