काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लामा आज आइतबार र भोलि सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।
असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भारी वर्षा र त्यसले निम्त्याउने सम्भावित विपद्लाई ध्यानमा राख्जदै सतर्क रहन आग्रह गरेका छन् ।
हिजो शनिबार स्पेन भ्रमणमा प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सतर्कतका लागि आह्वान गरेका हुन् ।
उनले अत्यावश्यकबाहेक यात्रा नगर्न, मौसमको अद्यावधिक सूचनामा ध्यान दिन, नदी किनार, पहाडी क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकसँग समन्वयमा रहन आग्रह गरेका छन् ।
उनले लेखका छन्–
संयुक्त राष्ट्रसङ्घको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गइरहेको छु । जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको छ । विपद् व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि सम्बन्धित ठाउँमा आह्वान गरेको छ । बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहौं ।
– अत्यावश्यक बाहेक यात्रा नगरौं ।
– मौसमको अद्यावधिक सूचनामा ध्यान दिऔं ।
– नदी किनार, पहाडी क्षेत्रका बासिन्दाले विशेष सतर्कता अपनाऔं ।
– स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकसँग समन्वयमा रहौं ।
FACEBOOK COMMENTS