काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।
आज (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् ।
हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा अबदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ ।
गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिने छ । हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था छ।
FACEBOOK COMMENTS