काठमाडौं । यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान, २०८०’ पूर्व प्राधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पुर्याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्व प्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।
संघ र कर्पोरेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई २१औँ संस्करणको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको जानकारी दिएको हो । यसअघि नेपाल सरकारका पूर्व मुख्यसचिव केदारभक्त माथेमादेखि वरिष्ठ कूटनीतिज्ञ, लेखक र विश्लेषकको पहिचान बनाएका डा. भेषबहादुर थापासम्मका २० जनाले यो सम्मान प्राप्त गरिसकेका छन् ।
संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई सो सम्मान प्रदान गर्न लागिएको नेपाल जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।
सम्मान प्राप्त गर्न लागेका श्रेष्ठ जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको २५औँ प्रधानन्यायाधीश बनेका थिए । दश वर्षे द्वन्रूको अवसान र वृहत् शान्तिसम्झौता, संविधान सभाको निर्वाचनजस्ता घटनाहरूका बखत पूर्वप्रधानन्यायाधीश श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट रहेको अध्यक्ष आचार्यले बताए ।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । सो छनोट समितिमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोईराला सदस्य छन् । त्यस्तै संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा रहेका छन् ।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको दुई लाख रुपैयाँ राशीको सो सम्मान आगामी बिहीबार भव्य समारोहकाबीच घोषित व्यक्तिलाई प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, जनप्रशासन संघका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालगायतले मन्तव्य व्यक्त गरेका थिए भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।
किन स्थापना गरियो हेमबहादुर मल्ल सम्मान ?
ख्यातीप्राप्त प्रशासक एवम् व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान गरेका थिए । सोही योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वर्गीय हेमबहादुर मल्लको जन्म वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा भएको थियो । उनले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र अध्यक्षसम्म भएर सेवा गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी, सगरमाथा इन्स्योरेन्स, र सुवर्ण फर्मास्युटिकल्सको अध्यक्षसमेत भएका थिए ।
त्यस्तै, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल्स, नेपाल वनस्पति घ्यू उद्योग, खाद्य उद्योग र हितकारी गुठीको सञ्चालक रहेर पनि उनले महत्त्वपूर्ण योगदान गरेका छन् । साथै, उनी नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्यसमेत बनेका थिए ।
यसअघि कोकसले पाए हेमबहादुर मल्ल सम्मान ?
सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मान वर्षेनि प्रदान गरिँदै आएको छ ।
सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन् ।
जनप्रशासन संघ के हो ?
सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरवलोकन र मूल्याकङ्नमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो ।
गैरनाफामुखी पेशागत संघको रूपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा प्रकाशन, छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरू आयोजना गरी त्यस्ता कार्यक्रमवाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवम् सम्बन्धित निकायहरूमा पठाई सहयोग पुर्याउँदै आएको नेपाल जनप्रशासन संघका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटाले जानकारी दिए ।
FACEBOOK COMMENTS