काठमाडौं । चिनियाँ हाइगर बस कम्पनी लिमिटेडद्वारा उत्पादित नयाँ हाइगर बस नेपाली बजारमा भित्रिएसँगै हस्तान्तरण गरिएको छ । शुक्रबार राजधानीको एक होटेलमा भएको हस्तान्तरण कार्यक्रममा चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य परामर्शदाता जी युले बस बुकिङ गर्ने ट्राभल एजेन्सीहरूलाई साँचो हस्तान्तरण गरेका हुन् ।
पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले पर्यटन प्रवर्द्धन गर्नका लागि भूमिका खेल्ने जनाइएको छ ।
यसको मूल्य नेपाली बजारमा १ कराेड २८ लाख रूपैयाँभन्दा बढी पर्ने बताइएको छ । नेपालमा अहिले हस्तान्तरण गरिएका बस ३५ सिट क्षमताका हुन् ।हाइगर बसहरू नेपालको भौगोलिक अवस्था र बाटोअनुरूप रहेका हुँदा नेपाली बजारमा छिट्टै लोकप्रिय हुने अधिकृत बिक्रेता आर्ट ग्रुप प्राइभेट लिमिटेडले जनाएकाे छ ।
बसमा तातो-चिसो एअर कन्डिसन र लक्जरियस सिटहरू रहेका छन् । गाडीमा बे्रक लगाउँदा आवाज पनि ननिस्कने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार हाइगर बसले नेपाली सडकमा ६ किलोमिटरसम्म माइलेज दिनेछ । यी बसमा १८ महिना १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।
नेपालमा पर्यटकीय सम्भवना प्रचुर भएका कारण पर्यटनलक्षित यी बसहरूको बिक्री अत्यधिक हुने विश्वास कम्पनीले लिएको छ । बसको मूल्य भने डलरको भाउले तय गर्दा अझ बढी हुने छ । कम्पनीका अनुसार उक्त हाइगर बस लिनेमा अमर शाही, मनाेज श्रेष्ठ, भडेल केदार कट्टेल र यति हाेलिडेजबाट हेमन्तराज कक्षपति रहेका छन् । हाइगर बस र भारतीय ब्राण्डका बसहरूको मूल्य बराबर भएका कारण हाइगर बसलाई प्रतिस्पर्धामा उत्रिन कुनै समस्या नहुने कम्पनीकाे दाबी छ ।
FACEBOOK COMMENTS