काठमाडौं । काठमाडौंको धुम्बाराहीमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्सले नेपालमै पहिलोपटक अनुहारको आकृति मिलाउने शल्यक्रिया (अर्थोग्नेटिक सर्जरी) लाई सफल तुल्याएको छ ।
जर्मनी र ताइवानबाट विशेष तालिमप्राप्त चिकित्सकको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सो शल्यक्रिया सफल पारिएको अस्पतालले जनाएको छ । निजी क्षेत्रका डेन्टल हस्पिटलको अगुवाईमा भएको यो अर्थोग्नेटिक सर्जरी नेपालमै पहिलो भएको अस्पतालको दाबी छ ।
शल्यक्रियामार्फत काठमाडौंको बौद्धनिवासी १९ वर्षीय एक जना पुरुषको अनुहारको आकृति मिलाइएको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले जानकारी दिएका छन् । उनका अनुसार ७ घण्टा लामो शल्यक्रिया गरी ती पुरुषको अनुहार मिलाइएको हो । अस्पतालका सिनियर कन्सल्ट्यान्ट कार्नियो–म्याक्सील्लोफेरियल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा गरिएको शल्यक्रियामा अस्पतालका सिनियर कन्सल्ट्यान्ट कार्नियोफेसियल अर्थोडोन्टिस्ट डा. मनिष बज्राचार्य, डा. नारायण शर्मा लामिछाने, र डा. गौरव कर्ण सहभागी थिए ।
चाबहिलस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा हिमाल डेन्टलमै यो शल्यक्रिया गरिएको अस्पतालको भनाइ छ । यस किसिमको शल्यक्रिया लामो तथा सुक्ष्म प्रकृतिको हुने हुँदा बेहोस पार्ने चिकित्सक एनेस्थेसियोलोजिष्टको भूमिका महत्वपूर्ण रहने भएकाले सर्जरीमा डा. श्याम महर्जनको नेतृत्वमा टीम परिचालित भएको अस्पतालले जानकारी दिएको छ । सरकारी स्वामित्वको वीर अस्पतालसँगको सहकार्यमा हिमाल डेन्टलका डाक्टरहरूले यसअघि पनि नेपालमा ७ जना विरामीको सफल शल्यक्रिया गरिसकेका छन् । पछिल्लोपटक भएको शल्यक्रिया भने निजी क्षेत्रको डेन्टल हस्पिटलमा गरिएको पहिलो शल्यक्रिया हो ।
यो शल्यक्रिया भर्चुअल प्लानिङ र थ्री–डी प्रिन्टिङ जस्ता आधुनिक कार्यबाट हुने भएकाले सो कार्यका लागि डा. उज्ज्वल प्याकुरेल खटिएका थिए । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि दुर्लभ भएको शल्यक्रियामा संलग्न डाक्टरहरूले बताएका छन् । नेपालमा यो सुविधा नपाएर थुप्रै नेपाली उपचारका लागि विदेश जाने गरेको उनीहरूको भनाइ छ ।
तर, हिमाल डेन्टल हस्पिटलले यो प्रकृतिको उपचार सफलतापूर्वक गरेकाले अब भने अनुहारको आकृति मिलाउन विदेश जान नपर्ने उनीहरूको दाबी छ । अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई ‘फेसियल डिफोरमिटिक्स’ भनिन्छ । शारीरिक विकास हुने क्रममा अनुहारको हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारको समस्या देखिने गरेको डाक्टरहरूको भनाइ छ ।
अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, चिउँडो बाँगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द हनु, बाल्यकालमा अनुहारमा लागेका चोटपटकको सही उपचार नहुँदा युवा अवस्थामा अनुहारको बनावट असामान्य रूपले विकसित हुने र समस्याको रूप लिने डा. किशोर भण्डारीले बताए ।
यस्तो समस्या देखिँदा राम्ररी खाना चपाउन नसक्ने, बोली स्पष्ट नहुने, बोल्दा थुक उछिट्टिने, अनुहारको मांशपेशीमा अत्यधिक दबाब पर्न जाने हुँदा अनुहारको जोर्नीमा नकारात्मक असर पर्ने श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्ने तथा आत्मविश्वासमा समेत कमी आउने हुन्छ ।
दाँतमा ब्रसेस बाँधेर शल्यक्रियामार्फत हड्डीलाई नयाँ पोजिशनमा सारी मुखबाट गरिने यो शल्यक्रियाबाट अनुहारमा कुनै दाग नबस्ने बताइएको छ । अवस्था हेरेर ४ घण्टादेखि ८ घण्टा समय लाग्ने यो शल्यक्रियापछि तीन दिनभित्रमा बिरामी डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । त्यस्तै यस्तो शल्यक्रिया गरेकाहरूले २ हप्तासम्म आराम गर्नुपर्ने हुन्छ भने ६ हप्तासम्म झोलिलो कुरा मात्रै खानुपर्ने छ ।
शल्यक्रिया भएको बढीमा तीन हप्तापछि ब्रसेस बाँध्नेकाम शुरू हुने र यो प्रक्रिया ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने अस्पतालको भनाइ छ । संसारभर नै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ (भीएसपी) अर्थात् कम्प्युटरको सहायताले अनुहारको बनोट निक्र्योल गरी आधुनिक तथा उच्च प्रविधिको प्रयोेग यो शल्यक्रिया हिमाल डेन्टलमा गरिन्छ ।
FACEBOOK COMMENTS