काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंक लिमिटेडले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिमा भन्दा ५७ दशमलव ५३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ५९ दशमलव ५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यस बैंकको खुद नाफा बढेको हो । यसको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा दर ३ दशमलव ७७ प्रतिशत विन्दुबाट बढेर ४ दशमलव ९५ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ जम्मा रहेको छ ।हिमालयनको प्रतिसेयर आम्दानी २६ पैसाले बढेर १३ दशमलव ८९ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १६२ दशमलव १७ रुपैयाँ छ ।
FACEBOOK COMMENTS