काठमाडाैं । हिमालयन बैंक लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरूसहितको आव २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठले शेयरधनीहरूलाई बैंकको दरबारमार्गस्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा संचालनमा ल्याइसकेको जानकारी गराए । तथापि आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले सञ्चयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए । यसका साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए ।
यसपश्चात् बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा एक अर्ब तेइस करोड त्रियासी लाख तीन हजार रहेको र ओदर कम्प्रिहेन्सिभ इनकम गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड ३९ लाख एक हजार रहेको जसमध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने चौबीस करोड छयत्तर लाख साठी हजार छुट्याइएको जानकारी दिए ।
यसैगरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब रूपैयाँ ४७ अर्ब दस करोड ९० लाख रूपैयाँ रहेको जानकारी गराए ।
सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः तीन खर्ब पचपन्न अर्ब त्रिहत्तर करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख रूपैयाँ पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधीनमा रही कर्जामा सम्भावित नोक्सानीका लागि उल्लेख्य रकम व्यवस्था गर्नुपरेकाले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाख रूपैयाँ मात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख रूपैयाँमा सीमित भएको जानकारी दिए ।
यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार रूपैयाँ कर्जा तथा ब्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रूपैयाँ असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालु आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाए ।
बैंकले स्थापनाकालदेखि नै नियमित रूपमा आफना शेयरधनीहरूलाई बोनस शेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सो लाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्थालगायत अन्य शीर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिलेजस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिए ।
FACEBOOK COMMENTS