काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल व्यङ्क्वेट शंखमुल काठमाडौंमा सम्पन्न भएको हो ।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता २०८२ पुष २१ गतेका लागि बन्द गरिएको थियो । २०८२ पुष २० गतेसम्म कायम सेयरधनी साधारणसभामा उपस्थित भएका थिए ।
उक्त साधारणसभाबाट आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित गरेको छ ।
सोही आवको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम.२० करोड १२ हजार ५९२ रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) समेत पारित गरेको छ । साथै, आ.व. २०८२/०८३ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक समेत साधारण सभाबाट पारित भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे । उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन तथा सबै सरोकारवालाहरूको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरि कम्पनीको ३२ औं साधारण सभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बावजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताए । साथै, उहाँले कम्पनीको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले भविष्यमा पनि दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
विषम परिस्थितिमा समेत ८ प्रतिशत नगद लाभांस प्रदान गरेकोमा अधिकांश सेयरधनीहरुले खुशी व्यक्त गर्दै साधारणसभामा सेयरधनीहरुसका तर्फबाट लबराज जोशी, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ, चन्द्र नारायण श्रेष्ठ लगायतका सेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए ।

FACEBOOK COMMENTS