काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आज शनिबारदेखि राजधानीमा शुरू भएको छ ।
एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक्सपोको उद्घाटन गरेकी छिन् । एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा उत्पादन शुरू भएको शतक बित्दासम्मको अवस्थामा ऊर्जा क्षेत्रमा भएको विकास अपेक्षित रूपमा हुन नसकेको बताएकी छिन् ।
यद्यपि ऊर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान भने महत्वपूर्ण उनले बताएन् । पछिल्ला वर्षहरूमा ऊर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले ऊर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेकामा खुशी व्यक्त गरिन् ।
समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुनु पर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले जलस्रोतको बहुआयामिक उपयोग बढाउनुपर्ने धारणा व्यक्त गरिन् । देशका विभिन्न स्थानमा अझै पनि बिजुलीको पहुँच नपुगेको भन्दै राष्ट्रपति भण्डारीले यसमा सम्बद्ध सबै पक्षले चासो दिनु पर्ने बताएकी छिन् ।
जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवर्द्धनमा लाग्न पनि उनले आग्रह गरेकी छिन् । सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुशी व्यक्त गरिन् ।
FACEBOOK COMMENTS