काठमाडौं । हिमालयन लायफ इन्स्योरेन्स लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कपिल कुमार दाहाललाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोकेको छ ।
हिजो सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई कार्यबाहक सीईओ तोकेको हो ।
कम्पनीका कर्मचारी तथा अभिकर्ताहरूको आन्दोलनका कारण सीईओ मनोजकुमार लाल कर्णले राजीनाम दिएपछि पद रिक्त बनेको थियो । सो पदमा अर्को व्यवस्था नभएसम्मका लागि दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि दाहाललाई उक्त जिम्मेवारी तोकिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईंले जानकारी दिए ।
कम्पनीले दाहाललाई जिम्मेवारी तोकिएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारीसमेत दिइसकिएको उनलेबताए ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका कपिल दाहालले वाणिज्य शास्त्रमा स्नातक हासिल गरेका छन् । उनले सन् २००९ मा भारतको चेन्नईस्थित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) बाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेका हुन् ।
लेखा, वित्तीय व्यवस्थापन, लेखापरीक्षण तथा बीमा क्षेत्रको व्यापक अनुभव रहेका उनलाई जीवन बीमा तथा निर्जीवन बीमा कम्पनी दुवै क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्यानुभव छ ।
FACEBOOK COMMENTS