काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्कमा लाग्ने ब्याज र जरिवाना छुट दिने योजना ल्याएको छ ।
कम्पनीले विभिन्न मितिमा बीमा गरेर पनि प्रिमियम (किस्ता) नतिरेका बीमितहरूका लागि यो योजना अघि सारेको हो ।
योजना अनुसार बीमा शुल्क तिर्न ढिलो गरेका बीमितले यही मंसिर १० गतेदेखि २५ गतेसम्ममा आफ्नो बीमालेख नवीकरण वा पुनर्जागरण गराउनुपर्ने छ ।
तीन वर्षसम्म प्रिमियम नबुझाएको बीमालेखमा शतप्रतिशत ब्याज र जरिवाना छुट दिने, तीन वर्ष माथिदेखि सात वर्षसम्म प्रिमियम नबुझाएको बीमालेखमा ५० प्रतिशत ब्याज र जरिवाना छुट दिने तथा सात वर्ष माथिका सबै बीमालेखमा २५ प्रतिशत ब्याज र जरिवाना छुट दिने कम्पनीले जनाएको छ ।
यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्राप्त गर्न सकिने कम्पनीले स्पष्ट गरेको छ । साथै, यसरी ब्याज र छरिवाना छुट सुविधा उपयोग गरेका बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र सरेन्डर (समर्पण) गर्दा बीमालेख नवीकरण गर्दा छुट भएको सबै रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।
व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेख नवीकरण गर्न कम्पनीले बीमितलाई आग्रह समेत गरेको छ ।
FACEBOOK COMMENTS