काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
आज मंगलबार सम्पन्न साधारण सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ को ८ प्रतिशतको दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ ४८ पैसा नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।
यसैगरी, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८०/८१ को अवधिको लागि एनएफआरएसबमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवम् नगद प्रवाह विवरण र ततसम्बन्धी अनुसूचीहरू स्वीकृत गरेको छ ।
त्यस्तै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिसबमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एससी लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।
त्यस्तै, कम्पनीको प्रस्तावित विषयउपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवम् परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८०/८१ मा भएको खर्चसमेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य र सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिएका थिए ।
FACEBOOK COMMENTS