काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा १६ लाख ६० हजार २२ जनाको आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज सोमबार साँझ ५ बजेर ९ मिनेटसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकबाट तीन करोड ३३ लाख १५ हजार ७० कित्ता शेयरका लागि आवेदन परेको जनाएको हो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १ दशमलव २९ गुणा बढी हो ।
आईपीओको आवेदकहरूबाट कम्पनीले ६ अर्ब ६२ करोड ६३ लाख चार हजार ४२० रुपैयाँ सङ्कलन गरेको छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनीले यही मंसिर २७ गतेदेखि पुस १ गतेसम्म २ करोड ४९ लाख कित्ता साधार शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको थियो । कम्पनीको आईपीओ निर्धारित मितिमै बिक्री भइसकेको भए पनि हिजो पुस ११ गते सूचना निकालेर आगामी ११ गतेसम्म आवेदन दिन पाइने उल्लेख गरेको थियो । तर, आज फेरि शेयर बिक्री भइसकेको भन्दै बिक्री बन्द गरेको हो ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुअल फन्डलाई बाँडफाँड गरेर सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।
FACEBOOK COMMENTS