हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७.८२ प्रतिशतले घटेको छ।
कम्पनीको खुद बीमाशुल्क आर्जनमा समेत गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको खुद आर्जित बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ४१.६२ प्रतिशतले घटेको छ।
त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ३६.१७ प्रतिशतले संकुचित भएको छ।
कम्पनीको कुल खर्च पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। यसअनुसार कुल खर्च २७.९४ प्रतिशतले घटेको छ।

कम्पनीको कमिसन खर्चमा समेत कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ९ लाख ६९ हजार रुपैयाँ रहेको कमिसन खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कमिसन खर्च ४६.८६ प्रतिशतले घटेको छ।

त्यस्तै, कम्पनीले दाबी भुक्तानीमा पनि अघिल्लो वर्षको तुलनामा कम रकम खर्च गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ। यसअनुसार कुल दाबी भुक्तानी ६२.७६ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८२ पैसामा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ०८ पैसा रहेको छ। कम्पनीको चुक्तापुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। त्यस्तै, विपत्ति कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोषमा ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।