काठमाडौं । तीनवटा लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संयुक्त कारोबार थालेको छ।
यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयनले मंगलबारदेखि एकीकृत कारोबार थालनी गरेको हो। तीन कम्पनी १ः१ः१ को समान हैसियतमा एक आपसमा गाभिएका हुन् ।
गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका तीन कम्पनीहरुले एक वर्षपछि एकीकृत कारोबार थालेका हुन् । संयुक्त मर्जर कमिटीले २०७९ माघ १ गते हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता गरेका थिए ।
प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सएक भएसँगै चुक्ता पुँजीका आधारमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बनेको छ ।
एकीकृत संस्थाको चुक्ता पुँजी पौने ८ अर्ब कायम भएको छ । हिमालयन लाइफमा नेपालका ठूला व्यावसयीक घरानाहरु एकिकृत भएका छन् ।
राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह हिमालयनमा जोडिएका छन् ।
यसअघि बैशाख ६ गते सम्पन्न भएको प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफको १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिएको थियो ।
ती कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए ।
यस्तै नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो ।
नयाँ संस्था हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
हाल प्राइमको चुक्ता पुँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५२ करोड र यूनियनको २ अर्ब १५ करोड रुपैयाँ छ ।
FACEBOOK COMMENTS