काठमाडाैंँ । हिजो र आज देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराई लगायतको मधेश प्रदेश र उच्च हिमाली प्रदेशतिर हिमपात भएको छ ।
सङ्खुवासभा
सङ्खुवासभा जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
ताप्लेजुङ सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।
केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
शितलहरले पूर्वपश्चिम राजमार्ग अबरुद्ध
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ । मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।
यो सूचना पाएपछि राति नै सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।
FACEBOOK COMMENTS