काठमाडौं । बिहानैदेखि रङ र अबिरको उल्लासमा रमाउँदै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल बढेको छ । तर, विगतको उच्छृङ्खलता हराउँदै गएको छ । अनुमति बिना अरूमाथि रङ दल्ने र पानी खन्याउने दृश्य अचेल काठमाडौंमा बिरलै देखिएका छन् ।
केही वर्षअघिसम्म होलीको दिन सडकमा निस्कने जो कोहीमाथि बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो, जबरजस्ती रङ लगाएर अनुहारै नचिनिने बनाइन्थ्यो । रङ र पानी मिसाएर बनाइएको रासायनिक घोलले बटुवालाई सास्ती दिने गर्थ्यो । तर, यो वर्ष सडकमा हिँड्नेहरूलाई कसैले पनि अनिच्छाविरुद्ध रङ वा पानी लगाएको देखिएन । मानिसहरू आफ्नै परिवार, छरछिमेक र साथीभाइसँग रमाउँदै खुसी साटासाट गरिरहेका छन् ।
जोरपाटी चोकमा होली मनाइरहेका युवा मङ्गलबहादुर तामाङले भने, हामी चिनेजानेका साथीभाइबीच मात्र रमाउँछौं, सडकमा हिँड्नेलाई केही गर्दैनौं ।ू सडकमा बालबालिकाले समेत विगतमा जस्तो पानीका लोला हान्ने र रङ दल्ने काम रोकेका छन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्नेको भीड पनि निकै कम भएको छ ।होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ ।
होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ ।
होलीको रौनक वसन्तपुर दरबार क्षेत्रमा भने बेग्लै छ । बिहानैदेखि त्यहाँ चहलपहल बढेको छ । तर, यहाँ पनि चिनजानका मानिसबीच मात्र रङ र लोला प्रयोग भएको देखिन्छ । फागुन शुक्ल अष्टमीका दिन चीर गाडेर सुरु भएको होलीको उत्सव आज पूर्णिमासम्म वसन्तपुरमा धुमधामले मनाइँदै छ । काठमाडौं महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी भन्छन्, पहिले अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो, तर अहिले त्यस्तो विकृति रोकिएको छ ।
होलीको पौराणिक कथा त्रेतायुगको दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी होलिकासँग जोडिन्छ । होलिकाको दुरुपयोग भएको शक्तिको अन्त्य र भक्त प्रह्लादको रक्षाको सम्झनामा यो पर्व मनाइन्छ । त्यस्तै, द्वापरयुगमा श्रीकृष्ण र राक्षसनी पुतनासँग जोडिएको कथाले पनि होलीको महत्व झल्काउँछ ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, राम्ररी तयार पारिएको रङ र अबिरले छालाका रोग निवारण गर्छ भने चीरको धुवाँले शीतकालीन रोगका कीटाणु नष्ट गर्छ । यो पर्वको आयुर्वेदिक महत्व पनि उत्तिकै छ ।
फागु पूर्णिमाको अवसरमा सरकारले आज हिमाली र पहाडी ५६ जिल्लामा बिदा दिएको छ भने शुक्रबार तराईका २१ जिल्लामा बिदा घोषणा गरेको छ । पछिल्ला वर्षहरूमा नशालु पदार्थको प्रयोग, गुन्डागर्दी र रासायनिक रङको दुरुपयोग पनि कम हुँदै गएको छ ।
आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ ।
FACEBOOK COMMENTS