नेपालीमा एउटा उखान छ, ‘दशा बजाएर आउँदैन् ।’ थोरै गल्तीले आफ्नो ज्यान पनि जान सक्छ वा प्रहरीको कठघरामा पनि पुग्न सकिन्छ । आज फागूपूर्णिमा अर्थात् होली पर्व हो । पहाडमा आज र तराईमा पर्सि होली खेलिन्छ । चाडपर्व नेपालीको परम्परा हो । नेपालीले धुमधामसँग चाडपर्व मनाउँदै आएका छन् ।
तर, पछिल्लो समय चाडपर्वको नाममा तडकभडक गर्ने, उच्छृङ्कन क्रियाकलाप गर्ने क्रम बढेको छ । सरकारले सभ्य र मर्यादित भएर चाडपर्व मनाउन आग्रह गरेपनि कसैले टेरपुच्छर मानेका छैनन् । जसका कारण जनधनकै क्षति हुँदै आएको छ । होली रङको पर्व हो ।
एकअर्कामा रङ र पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ होली मनाइन्छ । होली मनाउँदा आफ्नो परिवार, साथीभाइ वा आफन्तसँग मात्र मनाउन सरकारले आग्रह गरेको छ । घरको छतमा बसेर होली नखेल्ने, बाटो हिँड्नेलाई पानीको फोहोरा नहान्न, होली खेल्ने क्रममा मँहगा गरगहना नलगाउन, मादक पदार्थ सेवन गरेर सामाजिक शान्तिसुरक्षा खलल नपार्ने आम सर्वसाधारणलाई सूचित गराइएको छ ।
विगतको वर्षलाई हेर्ने हो भने होली खेल्ने क्रममा धेरैको ज्यान गएको छ । छतमा बसेर होली खेल्दा त्यहाँबाट लडेर ज्यान नै गुमाउनुपरेकोसम्म घटना छ । होली खेल्ने नाममा विकृति भित्रिएको छ । जबरजस्ती रङ हालिदिने, रङमा विभिन्न केमिकल, मोबिल मिसाएर दलिदिने, मर्नेगरी लोलाले हिर्काउने कार्य भइरहेको छ ।
रिस साँध्ने राम्रो माध्यम पछिल्लो समय होली बनेको छ । रङमा खुर्सानी मिसाएर दलिदिन्छन्, कसले दल्यो थाहा हुँदैन् । होली हो भन्दैमा बाटो हिँड्नेमाथि पानी खन्याउन पाइँदैन् । यो गैरकानुनी हो । सामाजिक शान्तिसुरक्षाविपरीतको कसूरमा प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सक्छ ।
कोही अस्पताल हिँडेको हुन्छ, कोही काममा । कसैलाई कतै पुग्न हतारो भएको हुन्छ । छतमा बसेर पानी खन्याउनेलाई एकछिनमा मज्जा होला, तर कतै पुग्न हिँडेको व्यक्तिलाई त नमज्जा हुन्छ । लुगा फेर्न घर फर्किऊ ढिलो भइरहेको हुन्छ, नफेरौं चिसो लुगामा कसरी जाऊँ भन्ने हुन्छ ।
त्यसैले कसैलाई पनि यस्तो अवस्थामा नपारिदिऊँ । होली भनेर मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सवारी साधन चलाउने कार्य कसैले पनि नगरौं । सानो निहुँले अहिले एकले अर्कोको ज्यान लिइरहेका छन् । त्यसैले सचेत बनौं । आफन्तबीच बसेर जाँडरक्सी खाने अनि सानो निहुँमा झैझगडा गर्ने र कुटाकुट गर्ने ।
एउटा मर्छ, अर्को जेल जान्छ । मदिराको नशाले छोडेपछि मैले गल्ती गरेछु भनेर के फाइदा ? घटना घटिसकेको हुन्छ । होली भन्दैमा हेल्मेट नलगाई सवारी चलाउने छुट छैन् । पहिले आफ्नो ज्यानको ख्याल गरौं । मदिरा सेवन गरेर सवारी हुइँकाउने काम कसैले पनि नगरौं । यतिबेला बजारमा व्यापक कालोबजारी देखिएको छ ।
सय रूपैयाँ नपर्ने होलीका टिसर्ट व्यापारीहरूले पाँच सयसम्ममा बेचिरहेका छन् । रङ, पिचकारीहरू पनि त्यस्तै । तर, बजार अनुगमन भने शून्य देखिएको छ । हामी नेपालीमा मानवता हराउँदै गएको छ । अघिपछि कुनै बटुवाले पिउने पानी मागे भने हामी दिँदैनौं । भनिन्छ नि,‘प्यासीलाई पानी खुवाउनु धर्म हो ।’
भोलिको कुरा गरौं, पानी नमागेपनि बाटो हिँड्नेलाई बाल्टिनको बाल्टिन खन्याउँछौं । यो त गैरजिम्मेवारी कार्य हो नि, होइन् र ? कसैलाई पिउने पानी दिन हामीलाई लोभ लाग्छ । तर, कसैलाई दुःख दिनचाँहि हामीलाई मज्जा आउँछ । हामी नेपालीले के सिक्दै छौं ? कोही घरमा माग्न आए भने हामी लखेट्छौं ।
घरभित्रबाट बाहिर निस्कदैनौं । यद्यपि, चाडपर्वको नाममा हामी फोगट्टेको खर्च गर्छौं । मदिरा सेवन गर्ने पैसाले कुनै बालबालिकालाई कापीकिताब किनिदियो भने उनीहरूले पढ्न त पाउँछन् । चाडपर्वमा फाल्टो खर्च गर्न होइन्, दुःखी गरिबलाई सहयोग गर्नुपर्छ भनि बुवाआमाले आफ्नो बालबालिकालाई सिकाउनुपर्छ ।
पिचकारीको के काम ? होलीमा एकदिन प्रयोग हुन्छ, त्यसपछि थन्किन्छ । त्यसले कसैलाई कापीकलम किनिदियो भने उनीहरूलाई महिनाभर लेख्न हुन्छ । कति बालबालिकासँग कापीकलम किन्ने पैसा छैन् । फोगट्टे खर्च गर्ने पैसा वृद्धाश्रममा लगेर दिऊँ । त्यहाँ भएका वृद्धवृद्धाले एकछाक भएपनि मिठोमसिनो खान पाउँछन् ।
ज्यानभन्दा ठूलो केही छैन् । एकछिनको रमाइलो जिन्दगीभरको लागि अमिलो बनिदिन सक्छ । त्यसैले होस् पुर्याऔं । अभिभावकले आफ्ना छोराछोरीलाई छतमा, बार्दलीमा, भर्याङ्गमा होली खेल्न दिनुहुँदैन् । कानुनमा कसैको इच्छाविपरीत रङ लगाउन, पानी हाल्न पाइँदैन् । त्यसो गरेमा कैद र जरिवाना हुन्छ ।
कतिपयलाई कानुनबारे जानकारी नहुन सक्छ । एकछिनको गल्तीले पछुताउनबाहेकको अन्य विकल्प नरहन सक्छ । त्यसैले कानुनबारे जानेर, बुझेर मात्र होली खेलौं । सचेत नागरिकले आफ्नो परिवारलाई पनि सिकाउँछ, आफूबाट दुर्घटनाबाट जोगिन्छ । यता, व्यापारीहरूले पनि व्यापार मात्र हेर्नुहुँदैन् ।
समाजप्रति जिम्मेवार हुनुपर्छ । पैसा कमाउनु मात्र व्यापार होइन भनेर व्यापारीले बुझ्नुपर्छ । सर्वसाधारणले कानुनलाई हल्कामा लिएका छन् । मलाई कसले के गर्छ ? भन्ने भ्रम सर्वसाधारणमा छ । तर, यहाँ कानुन पनि छ, प्रहरी पनि छ । छिरिक्क घटना मात्र घट्नुपर्छ, कानुन भोग्दाभोग्दै जिन्दगी सकिन्छ ।
सरकारले प्रत्येक घरघरमा गएर नागरिकलाई सचेत गराउन सक्दैन् । घटना घटेपछि दोषीलाई समातिन्छ, कानुनी प्रक्रिया अघि बढाइन्छ । कुनै व्यक्ति कानुनभन्दा माथि छैन् । आफूले रमाइलो गर्दा अन्यको हकअधिकार मिच्न पाइँदैन् । विडम्बना, शिक्षित व्यक्तिहरूले नै कानुनलाई ख्यालख्याल सोचिरहेका छन् ।
नपढेकालाई त झन् के थाहा ? घटना घटिसकेपछि रोएर, कराएर के फाइदा ? हुने भइसकेको हुन्छ । होली भोलि छ तर महिनादिन अघिदेखि नै होली मनाउन शुरु भएको छ । विद्यार्थीहरू अनुहारभरी, ड्रेसभरी अबिर दलेर बाटोमा हिँडेको देखिन्छ । शिक्षकहरू पनि रङमा पोतिएर हिँडेका हुन्छन् ।
होली खेल्नुपर्छ तर कहिले खेल्ने, कसरी खेल्ने भन्ने कुरा आउँछ । मान्छे जन्मिनुअगाडि जन्मदिन त मनाइँदैन् । अनि महिनादिन अघिदेखि नै होली खेल्न सुहाउँछ ? पढ्ने थलोमा मनलाग्दी छ अहिले । बच्चा काँचो माटो हुन् । उनीहरूलाई जस्तो सिक दियो, त्यस्तै सिक्छन् ।
गल्ती गरेभने यो गल्ती हो है भन्दिहाल्नुपर्छ । बालबालिकाका लागि आफ्नो अभिभावकपछिको दोस्रो अभिभावक शिक्षकशिक्षिका हुन् । त्यस्तै, दोस्रो घर विद्यालय । घरपछि सबैभन्दा धेरै समय बालबालिकाले विद्यालयमा बिताउँछन् । शिक्षकशिक्षिकाले त उनीहरूलाई ज्ञान दिनुपर्छ ।
चाडपर्वको संरक्षण गर्न हरेक नेपालीको दायित्व हो । तर, चाडपर्व भन्दैमा जे मनलाग्यो, त्यही गर्न त पाइएन् । हरेक चीजको एउटा दायरा हुन्छ । विडम्बना, शिक्षकशिक्षिकाले विद्यार्थीलाई यो कुरा सिकाउन सकेनन् । घोकन्ते पढाइमा आधारित हाम्रो शिक्षाले बालबालिकालाई राम्रो मानव बनाउन सकेको छैन् ।
बुढापाकाले अहिलेपनि भन्छन्,‘अनिकालमा बिऊ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ बुढापाकाले भनेको यी कुरा जीवनको यथार्थ हो । मान्छे मरेपछि फर्किएर आउँदैन् । अकालमा ज्यान गुमाउनुको पीडा असह्य हुन्छ । त्यसैले बेलैमा सचेत बन्नुपर्छ । आर्थिक मन्दीले अहिले धेरैलाई समस्यामा पारेको छ ।
काम नहुँदा कतिपयलाई बिहानबेलुकाको छाक टार्नै समस्या भएको छ । आफ्नो बालबच्चाको स्कुलको फिस तिर्न सकेका छैनन् । पैसा नभएर कतिपय रोग पालेर बसेका छन् । हामी नागरिकको ध्यान त्यता गए कति राम्रो हुन्थ्यो । सबै जिम्मेवारी राज्यको मात्र हुँदैन् । नागरिकले पनि जिम्मेवार हुनुपर्छ ।
थोपाथोपा मिलेर नदी बन्छ । सहयोग पनि त्यस्तै हो । अलिअलि गरेर सबैले सहयोग गर्यौं भनेर कसैले उपचार पाउँछन् । कसैले खान पाउँछन् । नेपालीले ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने कुरा बुझ्नुपर्छ । राज्यको ऐनकानुनलाई कसैले पनि चुनौती नदिऊँ । सुरक्षाकर्मीहरू पनि चनाखो बनौं । दुर्घटना भएपछि पुगेर के फाइदा ? घटना घट्नुअगाडि नै सचेत बनौं र बनाऔं ।
FACEBOOK COMMENTS