काठमाडौं । सरकारले पुस २७ गते (आज) पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा गर्न माग गरेको थियो । सोही माग अनुसार नै सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
FACEBOOK COMMENTS