काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ ।
विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्णसहयोग रहनेसमेत उल्लेख छ ।
उनले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाए । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ ।
FACEBOOK COMMENTS