काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण गरेका छन् ।
सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका थिए ।
निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वद्र्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताए ।
लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताए ।
सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उनले बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS