काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील तथा गोप्य सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने जो–कसैलाई पनि कानूनी दायरामा ल्याइने चेतावनी दिएका छन् ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बन गरेपछि गृहमन्त्रीको यस्तो भनाइ आएको हो ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गृह मन्त्रालय र मातहतका निकायबाट सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका हुन् ।
राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएर सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नदिने स्पष्ट पारेका छन् ।

‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ,’ उनले भनेका छन् ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनप्रति विश्वासघात गर्ने प्रवृत्ति सह्य नहुने बताउँदै गृहमन्त्री गुरुङले त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने र उनीहरूलाई कानूनको कठघरामा उभ्याइने दृढता व्यक्त गरेका छन् । दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र पक्राउको सूचना आरोप छ ।