काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अनामनगरस्थित मिटरब्याजी पीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
त्यसक्रममा श्रेष्ठले यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको बताए । ‘पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ, अब कार्यान्वयन हुन्छ,’ श्रेष्ठले भने, ‘आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।’
यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याजी पीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।
बर्दीबासबाट ११ दिन हिँडेर काठमाडौं आएपुगेका मिटरब्याजी पीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिएका थिए । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजी पीडितहरू बिरामी परेका थिए ।
सोहीकारण उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पहल लिएका थिए। जसअनुसार उपप्रधानमन्त्री श्रेष्ठको पहलमा स्वास्थ्य मन्त्रालयले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणलगायतका कार्यहरू गरिरहेको छ । स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सकहरूले मिटरब्याजी पीडितहरूको स्वस्थ्य अवस्थाबारे जानकारी लिइरहँदा उपप्रधानमन्त्री श्रेष्ठ सोही स्थानमा पुगेका हुन् ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको स्वास्थ्य परीक्षण र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए ।
‘उहाँहरूसँग वार्ता भएर सहमति गरेका छौँ । सरकारसँग भएको सहमतिपछि उहाँहरू फर्कने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘उपचार प्रक्रिया के छ भन्ने निरीक्षण गर्न आएको हुँ ।’
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले शुक्रबार पदबहालीका क्रममा दुईवटा निर्णय गरेका थिए ।
त्यसमध्ये एउटा गृहमन्त्री र सचिवले पाउँदै आएको सुराकी खर्च कटौती गर्ने र अर्को मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गरेका थिए ।
मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहल लिएको एकदिन पछि नै मिटरब्याजी पीडितसँग सहमति भएको हो ।
FACEBOOK COMMENTS