काठमाडौं । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अनिवार्य रूपमा वेबसाइटमार्फत शय्या भएको या नभएको विषय दैनिक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका तथा रिक्त शय्या सङ्ख्याको विवरण वेबसाइटमा दैनिक अद्यावधिक गर्नुपर्ने जानकारी दिए ।
उनले अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका गर्न सङ्घीय अस्पतालमा बहिरङ सेवामा अनलाइन टिकट व्यवस्था आगामी १५ दिनभित्र गर्न निर्देशन दिएको बताए । उनले पहुँच भएकाले तत्कालै सहजै अस्पतालमा शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था रहेकाले दैनिक शय्याको अद्यावधिक गर्न निर्देशन दिएको बताए ।
अस्पतालको शय्या खोजीमा हिँड्दाहिँड्दै बिरामी मृत्यु हुने गरेको भन्दै उनले सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले आगामी सात दिनभित्र अनिवार्य रूपमा यस्तो विवरण वेबसाइटमा राख्न थाल्नुपर्ने जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS