काठमाडौं । सरकारले जलन (बर्न) का बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउन ३० दिनभित्र अधिकांश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना प्रक्रिया सुरू गर्ने निर्णय गरेको छ ।
प्रदेशस्तरमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभावका कारण बढ्दै गएको मृत्युदर, अपाङ्गता र दीर्घकालीन पुनर्स्थापना समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ यस्तो निर्णय गरिएको बताइएको छ ।
साथै, जलनका बिरामीहरूलाई सहुलियत दरमा उपचार उपलब्ध गराउने व्यवस्था समेत मिलाइने भएको छ, जसले आर्थिक रूपमा कमजोर बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न एयर एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था तत्काल लागू गरिने भएको छ । यसले आकस्मिक अवस्थामा बिरामीलाई छिटो र प्रभावकारी उपचारका लागि सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।
सरकारका यी पहलहरूले विशेषगरी दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै जटिल अवस्थाका बिरामीहरूको जीवनरक्षा दरमा सुधार आउने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS