काठमाडौं । नेपालको मुस्ताङमा रहेको लक्जरी रिसोर्ट ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट लक्जरी होटल घोषित भएको छ ।
अन्तर्राष्ट्रिय लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको हो । विश्वका प्रतिष्ठित लक्जरी होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै नेपाली रिसोर्टले शीर्ष स्थान हासिल गरेको हो ।
रोब रिपोर्टका अनुसार यस वर्षको सूची विश्वका २४ जना अनुभवी लक्जरी यात्रा विशेषज्ञ अर्थात् ‘ट्राभल मास्टर्स’को मूल्यांकनका आधारमा तयार गरिएको हो । विश्वका उच्चस्तरीय यात्रुका लागि विशेष यात्रा अनुभव तयार गर्ने यी विशेषज्ञहरूको सिफारिस, स्थलगत अनुभव, सेवाको गुणस्तर, स्थान, डिजाइन, व्यवस्थापन, मौलिकता र समग्र आतिथ्य अनुभवलाई आधार बनाएर होटलहरूको मूल्यांकन गरिएको हो । यही मूल्यांकनमा शिन्तामणि मुस्ताङ विश्वकै नम्बर–१ लक्जरी होटल बन्न सफल भएको हो ।
मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी नदीको आसपास अवस्थित शिन्तामणि मुस्ताङ प्रसिद्ध वास्तु तथा रिसोर्ट डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो । परम्परागत बाग्लुङ ढुंगा लगायत स्थानीय शैली र सामग्रीको प्रयोग गरी निर्माण गरिएको रिसोर्टमा २९ वटा कोठा छन् । यहाँका प्रत्येक कोठाबाट मुस्ताङका हिमशृङ्खला, पहाड र आसपासको प्राकृतिक भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
शिन्तामणिको विशेषता विलासी कोठा र सुविधामा मात्रै सीमित छैन । वास्तुकला, स्थानीय संस्कृति, प्राकृतिक वातावरण, स्वास्थ्य तथा कल्याणका कार्यक्रम र व्यक्तिगत आतिथ्य सेवाको संयोजनलाई रिसोर्टको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ । रोब रिपोर्टले समेत शिन्तामणिलाई प्रकृति, संस्कृति र व्यक्तिगत अनुभवसँग जोडिएको विशिष्ट लक्जरी गन्तव्यका रूपमा व्याख्या गरेको छ ।
शिन्तामणि मुस्ताङ सञ्चालनमा आएदेखि नै नेपाललाई साहसिक पर्यटनको गन्तव्यबाट विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा समेत स्थापित गर्ने प्रयासको केन्द्रमा रहँदै आएको छ । यती समूह अन्तर्गतको शेर्पा हस्पिटालिटी ग्रुप (एसएचजी)ले सन् २०२३ को अगस्टदेखि रिसोर्ट सञ्चालन गर्दै आएको हो । उक्त समूहले मौलिक संस्कृति, स्थानीय समुदाय, प्राकृतिक सम्पदा, दिगोपना, स्वास्थ्य र पुनर्जागरणमुखी आतिथ्यलाई केन्द्रमा राखेर मुस्ताङमा फरक किसिमको लक्जरी पर्यटन अनुभव विकास गर्दै आएको जनाएको छ ।
शिन्तामणिमा पाहुनाले कम्तीमा पाँच रातको बुकिङ गर्नुपर्ने व्यवस्था छ । रिसोर्टको अवधारणा छोटो समयको बसाइ भन्दा पनि मुस्ताङको प्रकृति, संस्कृति, जीवनशैली र आध्यात्मिक अनुभवसँग जोडिने गरी तयार गरिएको छ । पाहुनाका लागि पद यात्रा, घोडचढी, धनुषबाण, स्थानीय गाउँ तथा गुम्बाको भ्रमण लगायतका गतिविधि उपलब्ध छन् । करिब आठ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध परम्पराको अध्ययन तथा स्थानीय समुदायसँगको प्रत्यक्ष अनुभवलाई समेत प्याकेजमा समेटिएको छ ।
रिसोर्टमा परम्परागत तिब्बती चिकित्सा पद्धतिसँग सम्बन्धित सेवा र विभिन्न वेलनेस कार्यक्रम समेत उपलब्ध छन् । यसले विलासी बसोबाससँगै शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक अनुभवलाई जोड्ने प्रयास गरेको छ । एभरेस्ट क्षेत्रको तुलनामा कम भीडभाड, पृथक भूगोल, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण मुस्ताङ उच्च खर्च गर्ने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
शिन्तामणि नेपालका सबैभन्दा महँगा लक्जरी होटलमध्ये एक हो । रिसोर्टमा दुई जनाका लागि तयार गरिएको प्याकेजको प्रतिरात न्यूनतम शुल्क १ हजार ८ सय अमेरिकी डलर रहेको छ । अर्थात आजको दिनमा दुई जनाको लागि एक रातको लागि झण्डै २ लाख ७५ हजार भन्दा बढी नेपाली रुपैंया खर्च गर्नु पर्ने हुन्छ । उक्त शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) र लक्जरी कर समावेश छैन । प्याकेजमा आवाससँगै खाना, पेय पदार्थ र वेलनेस कार्यक्रमसमेत समावेश हुने रिसोर्टले जनाएको छ ।
शिन्तामणिलाई प्राप्त यो अन्तर्राष्ट्रिय मान्यता अचानक आएको उपलब्धि भने होइन । रिसोर्टले सन् २०२४ मा ‘बेस्ट अफ द बेस्ट’ तथा ‘द ५० बेस्ट लक्जरी होटल्स इन द वल्र्ड’मा स्थान बनाएको थियो । सन् २०२५ मा ‘बेस्ट लक्जरी एडभेन्चर होटल’को मान्यता प्राप्त गरेको रिसोर्टले त्यसको एक वर्षपछि विश्वकै नम्बर–१ लक्जरी होटलको स्थान हासिल गरेको हो ।
नेपाल लामो समयदेखि हिमाल, पदयात्रा, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाका कारण विश्व पर्यटन नक्सामा परिचित छ । विशेषगरी सन् १९७० र १९८० को दशकमा नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित थियो । तर पछिल्ला दशकमा नेपालको पर्यटन पहिचान मुख्यत: ट्रेकिङ, पर्वतारोहण र साहसिक गतिविधिमा सीमित हुँदै गएको थियो । शिन्तामणिको अन्तर्राष्ट्रिय सफलताले भने नेपाललाई उच्चस्तरीय, अनुभवमूलक र लक्जरी पर्यटनको बजारमा समेत पुन: स्थापित गर्ने सम्भावना देखाएको छ ।