काठमाडौं । नेपालमा पर्यटक आगमनको संख्या बढ्दो छ । सन् २०२४ को तीन महिनामै तीन लाख भन्दा बढी पर्यटक नेपाल आएका छन् ।
अघिल्लो महिना मार्चमा त एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएर नयाँ रेकर्ड नै बन्यो। यस वर्षको जनवरीमा ७९ हजार एक सय जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको संख्या फेब्रुअरीमा ९७ हजार ४२६ पुगेको थियो । जबकी सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार ७५५ जना पर्यटक मात्रै पर्यटक नेपाल आएका थिए ।
सन् २०२४ को सुरुवातदेखि नै पर्यटक आगमन बढेपनि होटल व्यवसायी भने उत्साहित छैनन् । नेपालमा पर्यटक राख्ने होटलको क्षमता पनि बढेको बढ्यै छ । क्षमता बढेपनि त्यस अनुसारको पर्यटक आगमन संख्या बढ्न नसकेको होटल व्यवसायीहरू बताउँछन् ।
पर्यटन क्षेत्रका नेपालले क्षमता अनुसारको लाभ लिन नसकेको होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् । अध्यक्ष शाह भन्छन्, ‘पर्यटन क्षेत्रबाट नेपालले जति लाभ लिन सक्ने हो त्यति हामीले लिन सकिरहेका छैनौँ । एक लाख पर्यटकको संख्या गनेर हामी खुसी भइरहेका छौँ । जबकी त्यसको तीन दोब्बर सेवा दिन सक्ने क्षमता हामीले बनाइसकेका छौँ ।’
नेपालमा सडक लगायतका पूर्वाधारको समस्या रहेका कारण पनि पर्यटकहरू उल्लेख्य आउन नसेको उनको भनाई छ । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सञ्जालसंग जोडिनका लागि बनेको एयरपोर्टमा जहाज आउँदैनन् । एकातिर सिधा उडान छैन अनि अर्कोतिर सडकको अवस्था त्यस्तो छ । काठमाडौंमा आएका पर्यटक पोखरा नै जानु पर्यो भने पाँच÷छ घण्टाको बाटोमा १४–१५ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा को आउँछ? ’
पर्यटन प्रवर्द्धनको क्षेत्रमा एक पटक काम गरे भनेर अब आवश्यक छैन भन्ने खालको सरकारले सोच राख्न नहुने उनको तर्क छ । ‘हामीले पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न कार्यक्रमहरूमा नेपाल आउन चाहने मानिसहरू धेरै भेटेका छौँ । उनीहरूलाई नेपाल ल्याउने वातावरण सरकारले बनाउनु पर्छ’, उनले भने ।
FACEBOOK COMMENTS