काठमाडौं । पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगमा संलग्न होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कोशी प्रदेशको इटहरीमा अवस्थित पाँचतारे स्तरको होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको होटल गरिमा लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको हो । यसअनुसार कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ ।
उक्त साधारण शेयर निष्कासनका सम्बन्धमा मिति २०८२ पौष २५ गते होटल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच नयाँ बानेश्वर, काठमाडौंस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै निकट भविष्यमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाइने जनाइएको छ ।
कम्पनीका अनुसार यो कदमले होटल गरिमा लिमिटेडको व्यवसायिक विस्तार, पारदर्शिता अभिवृद्धि तथा संस्थागत सुशासन सुदृढ गर्न सहयोग पुग्नेछ । साथै, नेपालको आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विकासमा, विशेष गरी कोशी प्रदेशमा लगानीका अवसरहरू विस्तार गर्ने प्रतिबद्धता पनि यसबाट प्रतिबिम्बित हुने विश्वास लिइएको छ ।
सोल्टी होटल एण्ड रिसोर्ट समूहद्वारा व्यवस्थापन गरिएको यस होटलमा एक रोयल सुइट, आठ सुइट, आठ एक्जेक्युटिभ रुम, ५८ डिलक्स रुम तथा सात स्टुडियो रुम रहेका छन् । साथै, होटलमा दुईवटा व्यांकेट हल, तीन सेमिनार हल, “नुवाड थाई” ब्रान्डबाट सञ्चालन हुने स्पा, जिम तथा रेष्टुरेन्ट क्याफे लाउन्जलगायत आधुनिक सुविधाहरू उपलब्ध छन् ।

FACEBOOK COMMENTS